प्रधानमन्त्री शाहसँग जेन्जी पुस्ताका सांसदहरूको महत्वपूर्ण छलफल

काठमाडौं । प्रधानमन्त्री बालेंद्र शाहको आह्वानमा प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने जेन्जी पुस्ताका सांसद तथा नेताहरूसँग महत्वपूर्ण छलफल भएको छ। छलफलमा रास्वपाका सहमहामन्त्री तथा जेन्जी सांसद पुरुषोत्तम यादव,  र सांसद शिव यादव लगायतको सहभागिता रहेको थियो।
छलफलमा नयाँ पुस्ताको राजनीतिक भूमिका, सुशासन, पारदर्शिता, जनउत्तरदायित्व, रोजगारी तथा उद्यमशीलताका विषयमा केन्द्रित रहेर विचार–विमर्श भएको जनाइएको छ।
सहभागीहरूले राजनीति व्यक्तिगत लाभ वा कमाइको माध्यम नभई जनताको सेवा गर्ने जिम्मेवारी भएको धारणा राखेका थिए। जेन्जी पुस्ता उमेरले मात्र युवा नभई सोच, कार्यशैली, पारदर्शिता, जिम्मेवारीबोध र राजनीतिक संस्कारमा समेत नयाँपन देखिनुपर्नेमा जोड दिइएको थियो।
जेन्जी  तथा रास्वपा सहमहामन्त्री पुरुषोत्तम यादवले जनताले नयाँ पुस्ताका प्रतिनिधिमाथि ठूलो विश्वास र अपेक्षा राखेकाले त्यसलाई व्यवहारबाट प्रमाणित गर्नुपर्ने धारणा राखेका थिए। उनले राजनीति जनताको सेवा र समस्या समाधान गर्ने माध्यम बन्नुपर्नेमा जोड दिँदै नयाँ पुस्ताले इमानदारी, पारदर्शिता र परिणाममुखी कामलाई प्राथमिकतामा राख्नुपर्ने बताएका थिए।
सांसद शिव यादवले पनि जनताले दिएको विश्वासलाई जिम्मेवारीका रूपमा लिएर जनमुखी काम गर्नुपर्ने धारणा राखेका थिए। उनले राजनीतिक नेतृत्व र जनप्रतिनिधिको कार्यशैलीमा पारदर्शिता, जवाफदेहिता र जनताप्रतिको प्रत्यक्ष उत्तरदायित्व स्थापित गर्नुपर्ने बताएका थिए।
छलफलमा सहभागी जेन्जी पुस्ताका प्रतिनिधिहरूले नयाँ राजनीतिक संस्कार निर्माण गर्दै जनताको अपेक्षा र आवश्यकतालाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
प्रधानमन्त्री शाहको आह्वानमा भएको उक्त छलफललाई नयाँ पुस्ताका जनप्रतिनिधिबीच सहकार्य, संवाद र जनमुखी कार्यशैली विकास गर्ने महत्वपूर्ण पहलका रूपमा लिइएको सहभागीहरूले बताएका छन्।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ