अविरल वर्षाले मधेशका किसान प्रभावित, खेतमै ढल्यो पाक्न लागेको धान

जनकपुरधाम १४ कार्तिक। गत १२ गतेदेखि लगातार भइरहेको अविरल वर्षाका कारण मधेश प्रदेशका विभिन्न जिल्लाका किसानहरू ठूलो समस्यामा परेका छन्। लगातारको वर्षा र हावाहुरीका कारण खेतमा पाक्न लागेको धानबाली ढलेपछि किसानहरूले ठूलो कृषि क्षति व्यहोर्नुपरेको छ।
धान भित्र्याउने मुख्य समयमा परेको वर्षाले किसानहरूको वर्षभरिको मेहनत र लगानी जोखिममा परेको छ। खेतमा पाकेर काट्ने तयारीमा रहेको धान ढलेपछि उत्पादनमा कमी आउने तथा धानको गुणस्तरसमेत बिग्रने चिन्ता बढेको छ।
वर्षाका कारण खेतमा पानी जम्दा धान काट्न र खेतबाट घरसम्म भित्र्याउनसमेत कठिनाइ भएको छ। यसले गर्दा किसानहरू थप आर्थिक समस्यामा पर्ने अवस्था सिर्जना भएको छ।
कृषिमा निर्भर मधेश प्रदेशका अधिकांश किसानका लागि धान मुख्य खाद्यान्न तथा आम्दानीको स्रोत हो। प्राकृतिक विपत्तिका कारण भएको यस क्षतिले किसानको दैनिक जीविकोपार्जनमा समेत प्रत्यक्ष असर पार्ने देखिएको छ।
यस परिस्थितिमा सम्बन्धित स्थानीय तह, प्रदेश तथा संघीय सरकारले वर्षाबाट भएको कृषि क्षतिको तत्काल स्थलगत निरीक्षण गरी वास्तविक विवरण संकलन गर्नुपर्ने आवश्यकता देखिएको छ। साथै, प्रभावित किसानलाई उचित राहत, क्षतिपूर्ति तथा आवश्यक सहयोग उपलब्ध गराउन किसानहरूले सरकारसँग अपेक्षा गरेका छन्।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ