प्रहरी निरीक्षक विशाल मल्लको अगुवाइमा त्रिशुला खोलामा अस्थायी पुल निर्माण, अवरुद्ध सडक पुनः सञ्चालनमा

सिरहा, साउन ४ — इलाका प्रहरी कार्यालय महेशपुर पतारका प्रमुख प्रहरी निरीक्षक विशाल मल्लको अगुवाइमा अविरल वर्षाका कारण केही दिनदेखि अवरुद्ध रहेको सिरहाको बरियारपट्टी गाउँपालिका–५ स्थित त्रिशुला खोलाको सडकमा अस्थायी पुल निर्माण गरी पुनः सवारी आवागमन सञ्चालनमा ल्याइएको छ।

लगातारको वर्षासँगै त्रिशुला खोलामा पानीको सतह बढेपछि उक्त सडकखण्ड भएर हुने सवारी आवागमन विगत केही दिनदेखि पूर्ण रूपमा अवरुद्ध भएको थियो। यसका कारण स्थानीय बासिन्दा, विद्यार्थी, बिरामी तथा दैनिक आवतजावत गर्ने सर्वसाधारणले कठिनाइ भोग्दै आएका थिए।

आज मिति २०८३ साउन ४ गते इलाका प्रहरी कार्यालय महेशपुर पतार, सिरहाका प्रमुख प्रहरी निरीक्षक विशाल मल्लको नेतृत्वमा खटिएको प्रहरी टोलीले स्थानीय युवा, समाजसेवी तथा जनप्रतिनिधिसँग समन्वय गर्दै स्थानीय स्रोत–साधनको प्रयोगबाट त्रिशुला खोलामा अस्थायी पुल निर्माण गरेको हो।

अस्थायी पुल निर्माण सम्पन्न भएसँगै केही दिनदेखि अवरुद्ध रहेको सवारी आवागमन पुनः सुचारु भएको छ। विपद्को कठिन परिस्थितिमा प्रहरी निरीक्षक विशाल मल्लको नेतृत्वमा नेपाल प्रहरी, स्थानीय जनप्रतिनिधि, युवा तथा समाजसेवीहरूको संयुक्त प्रयासले छोटो समयमै आवागमन सहज बनाएको भन्दै स्थानीयवासीले प्रशंसा गरेका छन्।

स्थानीयले विपद्को समयमा प्रहरीको सक्रियता, समन्वय र जनसहभागितामार्फत समस्या समाधान भएको उल्लेख गर्दै प्रहरी टोलीप्रति आभार व्यक्त गरेका छन्।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ