लाहान ११ कार्तिक — नेपाली इतिहासकै सबैभन्दा कान्छा संघीय मन्त्री तथा युवा पुस्ताका प्रतिनिधि, संघीय युवा तथा खेलकुद मन्त्री श्री बब्लु गुप्ता र Gen Z लाहान का युवाबीच आज विशेष भेटघाट तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रमको आयोजना Gen Z लाहान का तर्फबाट गरिएको थियो, जहाँ स्थानीय युवाहरूले मन्त्री गुप्तालाई विशेष सम्मान प्रदान गर्दै लाहानका विभिन्न सामाजिक, शैक्षिक, पूर्वाधार तथा खेलकुद क्षेत्रसँग सम्बन्धित विषयमा छलफल गरेका थिए।
सो अवसरमा Gen Z लाहानका प्रतिनिधिहरूले मन्त्री गुप्तालाई ६ बुँदे ध्यानाकर्षण पत्र समेत बुझाएका छन्। उक्त पत्रमा लाहानका युवाहरूले स्थानीय खेलमैदानको स्तरोन्नति, युवाका सीप विकास कार्यक्रम, रोजगारी अवसर विस्तार, शिक्षा र सूचना पहुँच सुधार, सडक तथा पूर्वाधार विकास, र स्थानीय सरकारसँग सहकार्य बढाउने मागहरू राखेका छन्।
मन्त्री गुप्ताले युवाहरूको सुझावलाई गम्भीरतापूर्वक लिने प्रतिवद्धता जनाउँदै भने, “Gen Z पुस्ताको सक्रिय सहभागिताले देशको नीतिनिर्माणमा नयाँ ऊर्जा थपिएको छ। लाहानका युवाहरूले देखाएको पहलले नयाँ पुस्ताको सोच र जिम्मेवारीबोधलाई झल्काउँछ।”
कार्यक्रममा स्थानीय युवा अगुवा, विद्यार्थी, सामाजिक अभियन्ता तथा विभिन्न समुदायका प्रतिनिधिहरूको उपस्थिती थियो।

