सिरहा ३ कार्तिक / लक्ष्मीपुर पतारी गाउँपालिका जेन जि समितिले जनमुखी प्रहरी सेवा, सुशासनको प्रवर्द्धन, लागूऔषध नियन्त्रण तथा पर्व–तिहारमा शान्ति सुरक्षा कायम गर्न आग्रह गर्दै ईलाका प्रहरी कार्यालय महेशपुर पतारीलाई ध्यानाकर्षण पत्र बुझाएको छ।
कार्तिक २ गते, आइतबारका दिन, जेन जि लक्ष्मीपुर पतारी गाउँपालिका अध्यक्ष चन्द्रशेखर यादवको नेतृत्वमा एक टोलीले प्रहरी सब–इन्स्पेक्टर रामकुमार यादवलाई पत्र बुझाएको हो। उक्त टोलीमा उल्लेख्य संख्यामा युवाहरूको उपस्थिति रहेको थियो।
ध्यानाकर्षण पत्रमा विशेष रूपमा दीपावली तथा छठ पर्वका अवसरमा हुने अश्लील सांस्कृतिक कार्यक्रम तथा नाचगान रोक्न, लागूऔषध दुरुपयोग नियन्त्रण गर्न र समुदायसँग सहकार्यमा आधारित जनमुखी प्रहरी सेवा प्रवाह गर्न माग गरिएको छ।
कार्यक्रमका क्रममा अध्यक्ष यादवले स्थानीय युवाहरूको सक्रिय सहभागिता र प्रहरी प्रशासनको समन्वयमा समाजमा सकारात्मक परिवर्तन ल्याउन सकिने विश्वास व्यक्त गरे। उनले शान्ति, सुशासन र सामाजिक अनुशासनका लागि जेन जि समिति सदैव सक्रिय रहने बताए।
उक्त अवसरमा युवाहरूले समेत लागुऔषध नियन्त्रण तथा सामाजिक विकृति विरुद्ध सशक्त प्रहरी भूमिकाको माग गर्दै, आवश्यक परेमा समुदाय स्तरमै सहयोग गर्न तयार रहेको प्रतिबद्धता जनाए।
जेन जि समितिले प्रहरी प्रशासनसँग सहकार्यलाई अझ मजबुत बनाउँदै आगामी दिनमा पनि यस्ता पहलहरूलाई निरन्तरता दिने जनाइएको छ।

