लहान १५ भाद्र — सरकारले ल्याएको भूमि सम्बन्धी विधेयकको विरोधमा जनता समाजवादी पार्टी (जसपा) नेपाल, सिरहा क्षेत्र नं. १ ले लहानमा विशाल जनप्रदर्शन गरेको छ।
प्रदर्शनकारीहरूले उक्त विधेयक जनविरोधी, किसानमाथि अन्यायपूर्ण र भूमि अधिकार विपरीत रहेको आरोप लगाउँदै खारेज गर्न माग गरेका छन्। लहान बजार परिक्रमा गर्दै र्याली गरेका प्रदर्शनकारीहरू लहानचोकमा जम्मा भई विरोधसभामा परिणत भएका थिए।
विरोध कार्यक्रममा जसपा नेपालका नेता, कार्यकर्ता, किसान तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो। उनीहरूले ‘भूमि अधिकार हनन गर्न पाइँदैन’, ‘किसानमाथि अन्याय बन्द गर’ लगायतका नारा लगाएका थिए।
विरोधसभालाई सम्बोधन गर्दै नेताहरूले भूमि विधेयकले विशेष गरी सुकुम्बासी, भूमिहीन तथा सीमावर्ती क्षेत्रका किसानलाई असर पुर्याउने भन्दै तत्काल फिर्ता लिन सरकारलाई चेतावनी दिएका छन्।
कार्यक्रममा जसपा सिरहा क्षेत्र नं. १ का स्थानीय नेताहरूले ऐक्यबद्धता जनाउँदै आन्दोलनलाई थप सशक्त बनाउने चेतावनी पनि दिएका छन्।

