जनजागरण संवादाता/रामशंकर यादव
काठमाण्डौ १८ बैशाख / समाजवादी विद्यार्थी युनियन नेपालका मधेश प्रदेश उपाध्यक्ष तथा बौद्धिक युवा नेता चन्द्रशेखर यादवले अन्तर्राष्ट्रिय मजदुर दिवस (मे १) को अवसरमा देश-विदेशमा रहेका सम्पूर्ण नेपाली श्रमिकहरूलाई शुभकामना व्यक्त गरेका छन्।
शुभकामना सन्देशमार्फत नेता यादवले वर्तमान परिवेशमा श्रमिक वर्गका अधिकारहरू अझै अधुरो रहेको उल्लेख गर्दै ती अधिकारहरूको प्राप्तिका लागि निरन्तर संघर्ष आवश्यक रहेको बताए। साथै, उनले पहिले नै प्राप्त भएका श्रमिक अधिकारहरूको संरक्षण र सम्मान गर्न सबैलाई आग्रह गरे।
उनको भनाइमा, “श्रमिकहरू राष्ट्र निर्माणका मेरुदण्ड हुन्। उनीहरूको अधिकार सुनिश्चित नगरी समृद्ध नेपाल सम्भव छैन। अधिकारका लागि संगठित संघर्ष र सचेत नागरिकताको विकास अपरिहार्य छ।”
नेता यादवले देशको समृद्धि र सामाजिक न्यायका लागि श्रमिक वर्गको भूमिका अविस्मरणीय रहेको स्पष्ट गर्दै आगामी दिनमा उनीहरूका आवाज बुलन्द पार्ने प्रतिबद्धता व्यक्त गरे।
मजदुर दिवसको सन्देशमा उनले समाजमा श्रमिकहरूलाई सम्मान र मर्यादा प्रदान गर्नुपर्नेमा जोड दिँदै एकजुट भएर अधिकारको संरक्षण तथा विस्तारका लागि अघि बढ्न आह्वान गरे।

