गाँउ सुधार कमिटि पर्सा पोखरभिन्डा द्धारा वडा कार्यालयमा निःशुल्क सेवाका लागि सामग्री हस्तान्तरण

जनजागरण सम्बादाता/ रामशंकर यादव
सिरहा ६ वैशाख / लक्ष्मीपुर पतारी गाउँपालिका वडा नं. २ अन्तर्गत पर्सा पोखरभिन्डाका युवाहरूले समाजमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्यका साथ फेरि एक उदाहरणीय कार्य सम्पन्न गरेका छन्। गाउँ सुधार कमिटी पर्सा पोखरभिन्डाको अगुवाइमा वडा कार्यालयमा सेवा लिन पुग्ने नागरिकलाई आवश्यक पर्ने प्रतिलिपि कागजातहरू निःशुल्क उपलब्ध गराउने उद्देश्यले प्रिन्टर, सिफारिस कागज, प्रतिलिपि कागज लगायतका सामग्रीहरू वडा अध्यक्ष रामचन्द्र चौधरीलाई औपचारिक रूपमा हस्तान्तरण गरिएको हो।

समाजसेवामा सक्रिय गाउँ सुधार कमिटीले यस कार्यमार्फत स्थानीय सेवा प्रवाह सहज र प्रभावकारी बनाउने विश्वास लिएको छ। कमिटीले यसअघि पनि सरसफाई अभियान, विद्यालयमा वृक्षारोपण, निःशुल्क स्वास्थ्य शिविर, रक्तदान कार्यक्रम, सडक बत्ती जडान, फोहोर व्यवस्थापन, सामाजिक जनचेतनामूलक कार्यक्रम, जिल्लामा पहिलोपटक डिजिटल प्रविधिबाट पालिकास्तरीय हाजिरीजबाफ प्रतियोगिता, र सामाजिक न्यायका पक्षमा विभिन्न पहलहरू गर्दै आएको छ।

उक्त सामग्री हस्तान्तरण कार्यक्रम वडा अध्यक्ष रामचन्द्र चौधरीको अध्यक्षता, गाउँ सुधार कमिटी सल्लाहकार समितिका संयोजक चन्द्रशेखर यादवको प्रमुख आतिथ्यता, र बुद्धिजीवी रामदेव रायको विशिष्ट आतिथ्यमा सम्पन्न भएको थियो। कार्यक्रममा कमिटीका अध्यक्ष उमेश कुमार यादव, सचिव पंकज कुमार यादवसहित अन्य सदस्यहरूको समेत उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रममा बोल्दै वडा अध्यक्ष रामचन्द्र चौधरीले गाउँ सुधार कमिटीले समाज परिवर्तनमा खेलेको भूमिकाको प्रशंसा गर्दै धन्यवाद ज्ञापन गरे। प्रमुख अतिथि चन्द्रशेखर यादवले भने कार्यक्रमहरु वडा नं. २ बाट सुरुवात गरे तापनि कमिटीको उद्देश्य सम्पूर्ण गाउँपालिका भित्रका गाउँहरूलाई शिक्षा, स्वास्थ्य, सरसफाइ, कृषि, पूर्वाधार विकास र सामाजिक न्यायको दृष्टिले सबल बनाउने रहेको उल्लेख गरे।
त्यस्तै, कमिटी अध्यक्ष उमेश कुमार यादवले समाज सेवामा दिनरात खटिएको कुरा राखे भने सचिव पंकज कुमार यादवले सामाजिक परिवर्तनका लागि सबै एकजुट भई अघि बढ्नुपर्नेमा जोड दिए।

पर्सा पोखरभिन्डाका युवाहरूको यो प्रतिबद्धता र समर्पणले समाजमा सकारात्मक सोच र परिवर्तन ल्याउन प्रेरणा दिएको छ। स्थानीयस्तरमै यस्तो नविन र उपयोगी प्रयास भएकोमा समुदायले उच्च प्रशंसा गरेको छ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ