जनजागरण संवादाता / रामशंकर यादव
सिरहा २३ चैत्र / सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका वडा नं २ स्थित श्री जनता डोमि चौधरी माध्यमिक विद्यालय (प्राविधिक), पोखरभिन्डा पर्साले आगामी शैक्षिक सत्र २०८२ बैशाख महिनाबाट ओसिडि (सार्वजनिक शिक्षा) देखि कक्षा ८ सम्म अंग्रेजी माध्यम संचालन गर्ने निर्णय गरेको छ। यस निर्णयको घोषणा विद्यालयमा आयोजित अभिभावक भेलामा गरिएको हो।
सो भेलामा गाउँपालिका अध्यक्ष चतुरानन्द, वडा अध्यक्ष रामचन्द्र चौधरी र समाजवादी बिद्यार्थी युनियनका मधेश प्रदेश उपाध्यक्ष चन्द्रशेखर यादवको प्रमुख उपस्थिति रहेको थियो। कार्यक्रम विद्यालयका नि. प्र. अ. तार्नी प्रसाद चौधरीले सञ्चालन गरेका थिए, भने अंग्रेजी माध्यम योजना संयोजक र विद्यालयका शिक्षक राजा राम यादवले प्रस्तावना पेस गरे।
अभिभावकहरूले विद्यालयमा अंग्रेजी माध्यम सञ्चालन गर्ने निर्णयलाई खुलेर स्वागत गर्दै यसले सामान्य वर्गका विद्यार्थीहरूलाई ठूलो फाइदा पुर्याउने आशा व्यक्त गरेका छन्। उपाध्यक्ष चन्द्रशेखर यादवले आफ्नो वक्तव्यमा विद्यालयमा अंग्रेजी माध्यमको शुरुआतले सामान्य वर्गका विद्यार्थीहरूमा नयाँ उत्साह र प्रेरणा ल्याउने धारणा राखेका थिए।
अंग्रेजी माध्यम प्रारम्भ गर्ने निर्णयले विद्यालयमा शैक्षिक गुणस्तरमा सुधार ल्याउने र भविष्यमा विद्यार्थीहरूको प्रतिस्पर्धात्मक क्षमतामा वृद्धि गर्ने विश्वास पनि व्यक्त गरिएको छ।

