वीरगञ्ज, ३ माघ – बुधबार नेपाल–चीन सम्बन्ध र त्यसको पूर्वाधार तथा अन्य क्षेत्रीय प्रभावहरूमा वीरगञ्जमा आयोजित प्रादेशिक गोष्ठीमा गहिरो छलफल भएको छ। सेन्टर फर सोसल इनोभेसन एण्ड फरेन पोलिसी (सेसिफ) द्वारा आयोजित यस सेमिनारमा नेपाल–चीन सम्बन्धका विभिन्न आयाममा गम्भीर विमर्श भएको थियो।
सेमिनारको उद्घाटन गर्दै सेसिफका कार्यकारी अध्यक्ष विजयकान्त कर्णले नेपाल–चीन सम्बन्ध वर्तमानमा निर्णायक मोडमा रहेको बताए। उनले बेल्ट एन्ड रोड इनिसिएटिव (बीआरआई) को महत्त्वलाई उजागर गर्दै भने, “नेपाल–चीन सम्बन्धका लागि हालैको ‘फ्रेमवर्क फर बेल्ट एन्ड रोड कोआपरेशन’ नेपालका लागि एक महत्वपूर्ण मोड साबित हुनेछ।”
तर, सबैभन्दा महत्वपूर्ण वक्तव्य भनेको प्रतिनिधिसभाका अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समिति सभापति राजकिशोर यादवको थियो। उनले नेपालको राष्ट्रिय हितलाई प्राथमिकता दिँदै चीनको आर्थिक वृद्धिबाट फाइदा उठाउने आवश्यकता औंल्याए। यादवले भने, “नेपालले चीन र भारत दुवैसँग सुमधुर सम्बन्ध कायम राख्नु पर्छ। नेपालको परराष्ट्र नीति निश्चिततामा स्पष्ट र पारदर्शी हुनुपर्छ।” उनले थपे, “नेपालले छिमेकी राष्ट्रसँगको सम्बन्धमा विशेष ध्यान दिनुपर्ने छ र लगानीको प्रतिफल सुनिश्चित गर्ने आयोजनामा प्राथमिकता राख्नुपर्छ।”
सभापति यादवले स्पष्ट रूपमा नेपालको परराष्ट्र नीतिमा दिगोपन र जवाफदेहिता सुनिश्चित गर्ने कुरामा जोड दिँदै यसका भूराजनीतिक र आन्तरिक राजनीतिक प्रभावहरूको विवेचनासमेत गरेका थिए। उनले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उदाहरण प्रस्तुत गर्दै नेपालले ऋणको पारदर्शिता र जवाफदेहिता कायम राख्नुपर्नेमा बल दिए।
पूर्व अर्थमन्त्री डा. प्रकाशसरण महतले राष्ट्रिय हितका आधारमा परराष्ट्र नीति सञ्चालन गर्नुपर्नेमा जोड दिएका थिए भने, सेसिफका रिसर्च फेलोहरू महेश कुशवाहा र पवन अधिकारीले नेपालमा चीनको एनजीओ र पूर्वाधार क्षेत्रको बढ्दो संलग्नता र यसको मिश्रित प्रभावबारे अनुसन्धान प्रस्तुत गरेका थिए।
पूर्व विदेश सचिव मधुरमण आचार्यले नेपालको कूटनीतिक कमजोर पक्षलाई आलोचना गर्दै भने, “नेपाल प्रायः महाशक्तिहरूसँग आफ्नो हितभन्दा अरूसँग सन्तुलन बनाउने प्रयासमा हुन्छ, जसले हाम्रो वार्ता क्षमता कमजोर बनाएको छ।”
सेमिनारको समापनमा उपस्थित व्यक्तिहरूले नेपालले आफ्नो राष्ट्रिय हितलाई प्राथमिकता दिँदै परराष्ट्र नीति तय गर्नु आवश्यक रहेकोमा सहमति जनाए। गोष्ठीले नेपाल–चीन सम्बन्धमा नयाँ दृष्टिकोण र महत्वपूर्ण सोच ल्याएको र नेपालको कूटनीतिक रणनीतिको भविष्य निर्धारण गर्न सहयोग पुर्याएको विश्वास व्यक्त गरिएको छ।

