काठमाडौँ — गृहमन्त्री रमेश लेखकले यही मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचन निष्पक्ष र स्वतन्त्र ढंगले सम्पन्न गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् ।
शुक्रबार सिंहदरबारमा बसेको संघीय संसद् प्रतिनिधि सभा अन्तर्गत राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । मन्त्री लेखकले उपनिर्वाचनलाई स्वतन्त्र र निष्पक्ष ढंगले सम्पन्न गराउनका लागि सुरक्षा निकायका सबै अंगहरुलाई निर्देशन दिइएको बताए ।
उपनिर्वाचन केन्द्रित सुरक्षा निकायको बैठक बसेको र त्यसले निर्वाचनका लागि आवश्यक शान्ति सुरक्षा उपलब्ध गराउने आवश्यक निर्णय गरिरहेको भन्दै उनले त्यसका लागि निर्वाचन आयोगलाई सहयोग गर्नुपर्ने कुरामा सरकार तयार रहेको बताए ।
‘उपनिर्वाचनको प्रक्रिया अघि बढेको छ । मैले सरकारको तर्फबाट के आग्रह गर्न चाहन्छु भने उपनिर्वाचन निष्पक्ष, स्वतन्त्र ढंगले सम्पन्न हुन्छ । यसका लागि सुरक्षाका सबै आवश्यक प्रबन्धहरु मिलाइएको छ। मैले उपनिर्वाचन केन्द्रित केन्द्रीय सुरक्षा समितिको बैठक पनि राखिसकेको छु,’ उनले भने, ‘सबै सुरक्षा निकायहरुलाई सुरक्षाको उचित प्रबन्ध गर्न आवश्यक निर्देशन दिइसकिएको अवस्था छ । त्यहीअनुसार तयारी अघि बढेको छ ।’
गृहमन्त्री लेखकले निर्वाचनका लागि आवश्यक सबै खालको सहयोग जुटाउने कुरामा सरकार लागि परेको बताए ।

