सिरहा २६ कार्तिक / जनजागरण संवादाता
समाजवादी विद्यार्थी युनियन नेपाल सिरहा जिल्लाले आज एक बृहत् बैठक र पार्टी प्रवेश कार्यक्रमको आयोजना गरेको छ। जसपा नेपालका राष्ट्रिय उपाध्यक्ष, पूर्वमन्त्री र सिरहा क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य राजकिशोर यादव को प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रमले नयाँ राजनीतिक मोड लिएको छ।

कार्यक्रममा माओवादी पार्टी (YCL) का लक्ष्मीपुर पतारी गापा इन्चार्ज उमेश कुमार यादव, नेकपा एस का जे एस क्याम्पस स्ववियु सभापति प्रत्यासी उमेद्वार मो. नबि हसन, नेपाली कांग्रेसका करिम पठान, विरु यादव र सुरेश सहनी लगायत १०० भन्दा बढी नेताहरुले आफ्नो पार्टी परित्याग गरी जसपा नेपालमा प्रवेश गरेका छन्। जसपा नेपालका बिद्यार्थी उपाध्यक्ष चन्द्रशेखर यादवले पार्टी प्रवेश गर्ने सबैलाई समर्पित कार्यकालको शुभकामना व्यक्त गर्दै विश्वास व्यक्त गरे कि उनीहरू पार्टीलाई सशक्त बनाउनमा योगदान पुर्याउनेछन्।

कार्यक्रमको प्रमुख अतिथि, जसपा नेपालका राष्ट्रिय उपाध्यक्ष राजकिशोर यादवले कार्यक्रममा सम्बोधन गर्दै भने, “आज सिरहा जिल्लामा ऐतिहासिक घटना घटेको छ। विभिन्न पार्टीका नेताहरु जसपा नेपालमा प्रवेश गर्दै समाजवादी दृष्टिकोण र मुलुकको समृद्धिका लागि आफ्नो समर्पण प्रकट गरेका छन्। यो हाम्रो पार्टीको लागि मात्र होइन, समग्र लोकतन्त्र र समाजवादको लागि पनि एक सकारात्मक कदम हो।”
उहाँले थपे, “अब हामी सबै मिलेर सशक्त र समृद्ध नेपाल निर्माणका लागि एकजुट भएर काम गर्ने छौं। जसपा नेपाल समाजवाद र जनताको अधिकारका लागि प्रतिबद्ध पार्टी हो र यसलाई अझ सशक्त बनाउँदै अगाडि बढ्ने छ।”
युवा नेता चन्द्रशेखर यादवले पार्टी प्रवेश गर्ने सबै नेताहरुलाई बधाई दिँदै भने, “तपाईंहरुको प्रवेशले जसपा नेपाललाई अझ मजबुत बनाउने छ। हाम्रो लक्ष्य समाजवाद र जनताको हितमा काम गर्ने हो, र तपाईँहरुको योगदानले यस उद्देश्यलाई साकार बनाउन मद्दत गर्नेछ।”
कार्यक्रमका दौरान पार्टी प्रवेश गर्ने नेताहरुले आफूहरूको विचार र विश्वासको कारण जसपा नेपालमा समावेश भएको बताउँदै यसले मुलुकको राजनीतिक परिवर्तमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरेका छन्।
यस अवसरमा जसपा नेपालका अन्य नेता तथा कार्यकर्ताहरुको पनि उत्साहजनक सहभागिता रहेको थियो।













