अन्ततः न्युयोर्कमा ओली–मोदी साइडलाइनमा द्विपक्षीय भेटवार्ता तय

न्युयोर्क, अमेरिका ०५ असोज /  अन्ततः न्युयोर्कमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच ७९ औं संयुक्त राष्ट्र संघको महासभाको दौरान द्विपक्षीय साइडलाइनमा भेटवार्ता हुने तय भएको छ ।

भारतीय प्रधानमन्त्री मोदीसँग न्युयोर्कमा साइडलाइनमा द्विपक्षीय भेटवार्ताको लागि नेपालले केही समयअघिदेखि नै प्रस्ताव गरे पनि नयाँ दिल्लीको तर्फबाट सकारात्मक जवाफ आइसकेको थिएन ।

तर नेपालका प्रधानमन्त्री ओली न्युयोर्कमा शुक्रबार राति उत्रनु केही घन्टाअघि भारतीय पक्षले मोदी द्विपक्षीय भेटवार्ताको लागि तयार गरेको सन्देश दिएको हो ।

परराष्ट्र स्रोतका अनुसार लामो समयदेखि साइडलाइनमा भेटवार्ताको लागि गृहकार्य भए पनि भारतीय पक्षबाट दुई प्रधानमन्त्रीबीच भेटवार्ता हुने सक्ने सन्देश शुक्रबार प्राप्त भएको हो । स्थानीय समयअनुसार आइतबार ओली र मोदीको साइडलाइनमा द्विपक्षीय भेटवार्ता हुनेछ । ‘अन्यथा केही नभएमा भेटवार्ता हुने पक्का भएको हो,’ स्रोतले भन्यो ।

चौथो पटक ओली प्रधानमन्त्री भएपछि भारतीय प्रधानमन्त्री मोदीसँग पहिलो भेटवार्ता हुनेछ ।

मोदीसँग भेटवार्ता हुने भएपछि नेपाली पक्षले त्यसको लागि आवश्यक गृहकार्य पनि गरेको छ ।

दुई प्रधानमन्त्रीबीच भेटवार्ता गराउनको लागि नेपाली पक्षले विभिन्न तहबाट पहल गरेको थियो । परराष्ट्रमन्त्री आरजु राणा देउवादेखि न्युयोर्कस्थित राष्ट्र संघका लागि नेपाली प्रतिनिधि लोकबहादुर थापा तथा नयाँ दिल्लीस्थित नेपाली दूतावासलाई पनि परिचालन गरिएको थियो । प्रधानमन्त्री ओलीले साइडलाइन भेटवार्ताको लागि मन्त्री राणालाई नै निर्देशन दिएर मन्त्रालयलाई काम गर्न भनेका थिए ।

भदौ २५ बाट महासभा सुरु भइसकेको छ । महासभाको उच्चस्तरीय छलफल असोज ८ देखि १२ सम्म चल्ने छ । नेपालको २२ सदस्य प्रतिनिधमण्डलको नेतृत्व गरेर प्रधानमन्त्री ओली न्युयोर्क आइपुगिसकेका छन् ।

यसपटक असोज ७ र ८ मा भने राष्ट्रसंघकै आयोजनामा ‘समिट अफ द फ्युचर’ कार्यक्रम छ । त्यसमा पनि ओलीले सम्बोधन गर्ने कार्यक्रम छ । त्यसको लागि शुक्रबारबाट भने समिट अफ द फ्युचरको एक्सन डे सुरु भइसकेको छ । भारतका प्रधानमन्त्री मोदी भने समिट अफ द फ्युचर कार्यक्रममा सहभागी भएर सम्बोधन गर्नको लागि मात्र न्युयोर्क आउन लागेका हुन् ।

मोदी शुक्रबार अमेरिकाको विल्मिङटनमा चार मुलुकहरुको संगठन क्वाड (अमेरिका, भारत, जापान र अस्ट्रेलिया) को बैठकमा सहभागी हुन आइसकेका छन् । उनी त्यहीबाट न्युयोर्क आउन लागेका हुन् । आइतबार न्युयोर्क आउने छन् र शनिबार बेलुकी भारत फर्कने छन् ।

ओली र मोदीबीच यसअघि नै थाइल्यान्डमा हुने भनिएको बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) को छैटौं शिखर सम्मेलनका दौरान साइडलाइनमा भेटवार्ता हुने कार्यक्रम तय गरिएको थियो । उक्त भेटवार्तालाई भारतीय पक्षले पनि सहभागी जनाएको थियो । तर भदौ १८ र १९ मा हुने भनिएको सम्मेलन थाइल्यान्डको नयाँ राजनीतिक उतार–चढावको कारण स्थगित भयो । त्यसपछि अब न्युयोर्कमा भेटवार्ता सम्भव हुने भएको हो ।

ओली पहिलो र दोस्रोपटक प्रधानमन्त्री हुँदा भारत भ्रमणबाटै विदेश यात्रा थालेका थिए । तर तेस्रोपटक भने उनी तीन महिनामात्र प्रधानमन्त्री रहे र कुनै पनि मुलुकको भ्रमण गरेनन् ।

ओली २०७२ सालमा पहिलो पटक, २०७४ सालमा दोस्रो र २०७८ सालमा तेस्रोपटक प्रधानमन्त्री भएका थिए । चौथो पटक प्रधानमन्त्री भएपछि ओलीको विदेश भ्रमण न्युयोर्कमा हुने महासभाबाट हुने भएको छ ।

ओली यसपटक प्रधानमन्त्री भएपछि भारतीय पक्षबाट हालसम्म औपचारिक भ्रमणको लागि कुनै पनि निमन्त्रण आएको छैन । तर ओलीले भने परराष्ट्रमन्त्री राणाको भारत भ्रमणको क्रममा मोदीलाई नेपाल भ्रमणको औपचारिक रुपमा निमन्त्रणा पठाएका थिए ।

 

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ