जनजागरण संवादाता / रामशंकर यादव
जनकपुरधाम १३ कार्तिक / हिजोदेखि निरन्तर परिवर्तन भइरहेको मौसमसहितको हावाहुरी र वर्षाका कारण मधेशका किसानहरू चिन्तामा परेका छन्। लामो समयसम्म वर्षा नहुँदा रोपाइँमा ढिलाइ भएको धान बाली अहिले बल्ल पाक्ने चरणमा पुगेको बेला बेमौसमी वर्षाले ठूलो क्षति पुर्याएको छ।

धान काटेर भित्र्याउने तयारीमा रहेका किसानका खेतमा वर्षासँगै आएको हावाहुरीले धान भुइँमा खसालेको र धेरै ठाउँमा पानीमा डुबाएको जनाइएको छ। खेतमा पानी जम्दा काटिएका धान सड्न थालेका र धेरैजसो बाली अब प्रयोगयोग्य नहुने अवस्थामा पुगेका किसानहरूको गुनासो छ।
कृषि विज्ञहरूका अनुसार भिजेका धान दानामा फफूंदी लाग्ने, अंकुर फूट्ने र गुणस्तर नबच्ने भएकाले बजारमा बेच्न पनि कठिन हुने बताइएको छ। उनीहरूले प्रभावित किसानहरूलाई राहत प्याकेज र क्षतिपूर्ति उपलब्ध गराउन सरकारसँग आग्रह गरेका छन्।
मौसमीय असन्तुलन र बेमौसमी वर्षाको असरले यस वर्ष मधेशका हजारौं किसानको मेहनत खेर जाने देखिएको छ।

