जनजागरण संवादाता / रामशंकर यादव
सिरहा ११ कार्तिक / लहान माडवारी सेवा सदनमा आयोजित एक विशेष समारोहमा नव–नियुक्त युवा तथा खेलकुद मन्त्री बब्लु गुप्तालाई जेन–जि लक्ष्मीपुर पतारी गाउँपालिका समिति अध्यक्ष चन्द्रशेखर यादवले गम्छा र सम्मानपत्र प्रदान गर्दै सम्मान गरेका छन्।
कार्यक्रममा अध्यक्ष यादवसहित समितिका पदाधिकारी र स्थानीय प्रतिनिधिहरूले मन्त्री गुप्तालाई नेपालको युवा र खेल क्षेत्रको उन्नतिका लागि शुभकामना व्यक्त गरेका थिए। कार्यक्रममा बोल्दै अध्यक्ष यादवले मन्त्री गुप्ताको नेतृत्वमा युवामा सकारात्मक सोच, खेलकुदको विस्तार र प्रतिभा विकासमा नयाँ आयाम थपिने विश्वास व्यक्त गरे।

मन्त्री गुप्ताले सम्मानका लागि धन्यवाद ज्ञापन गर्दै युवाको सशक्तिकरण, खेलकुद पूर्वाधार विकास र स्थानीय प्रतिभाको पहिचानका लागि मन्त्रालय प्रतिबद्ध रहेको बताउनुभयो।

समारोहमा स्थानीय समाजसेवी, जनप्रतिनिधि, खेलकर्मी र युवाहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

