जनजागरण संवादाता / रामशंकर यादव
सिरहा ३१ असोज — जेनजी आन्दोलनको सशक्त विस्तारको क्रमलाई अघि बढाउँदै लक्ष्मीपुर पतारी गाउँपालिका–२, पोखरभिन्ड्डामा पर्सा आज एक महत्वपूर्ण भेलामार्फत गाउँपालिका स्तरीय समिति गठन गरिएको छ। श्री जनता डोमि चौधरी माध्यमिक प्राविधिक विद्यालयमा सम्पन्न उक्त भेलाबाट चन्द्रशेखर यादवको अध्यक्षतामा ११ सदस्यीय पारदर्शी र समावेशी समिति चयन गरिएको हो।
समितिको सचिवमा राजेश गिरी, कोषाध्यक्षमा सुरेश राज शर्मा चयन गरिए भने वडा नं. २ का संयोजकमा उमेश कुमार यादव चयन भएका छन्।
लक्ष्मीपुर पतारी गाउँपालिकामा जम्मा ६ वटा वडा रहेका छन् र उक्त भेलामा छ वटै वडाबाट प्रतिनिधित्व हुने गरी करिब २०० भन्दा बढी जेनजी युवाहरुको सक्रिय सहभागिता रहेको थियो।
कार्यक्रममा नव–निर्वाचित अध्यक्ष चन्द्रशेखर यादवले आफ्नो मन्तव्य राख्दै गाउँपालिकालाई सुशासित, सफा, र भ्रष्टाचारमुक्त बनाउने प्रतिबद्धता व्यक्त गरे। साथै, देशका हरेक उपेक्षित र उत्पीडित वर्गका लागि दिनरात काम गर्ने अठोटसमेत दोहोर्याए। सचिव राजेश गिरीले समाजलाई सकारात्मक दिशामा लैजान प्रतिबद्धताका साथ काम गर्ने जनाउँदै सबै युवालाई साझा यात्रामा सँगै हिँड्न आग्रह गरे।
त्यस्तै, कोषाध्यक्ष सुरेश शर्मा र वडा नं. २ का संयोजक उमेश कुमार यादवले पनि आ–आफ्नो धारणा राख्दै संगठनको भावी दिशा र योजनाबारे प्रकाश पारे।
जेनजी आन्दोलनले नयाँ पुस्ताका युवाहरूलाई नेतृत्व, सामाजिक न्याय र समावेशीताका सवालमा जागरुक बनाउँदै आएको छ। देशव्यापी अभियानको रुपमा अगाडि बढिरहेको यो आन्दोलनले ग्रामीण तहसम्म सशक्त संरचना निर्माण गर्दै समाजमा सकारात्मक परिवर्तन ल्याउने दिशामा महत्वपूर्ण भूमिका खेलिरहेको छ।
लक्ष्मीपुर पतारी गाउँपालिकामा गठन भएको यो समिति जेनजी आन्दोलनको आधारशिला बन्ने विश्वास गरिएको छ।

