जनजागरण संवादाता / रामशंकर यादव
काठमाण्डौ १४ आश्विन / दुबईमा जारी अन्तर्राष्ट्रिय क्रिकेट लिग अन्तर्गत भएको महत्त्वपूर्ण खेलमा नेपालले गए राति शानदार जित हासिल गर्दै लगातार दोस्रो पटक उपाधि उचाल्न सफल भएको छ। यो जितसँगै सम्पूर्ण नेपाली जनसमुदायमा खुसीको लहर फैलिएको छ।
नेपालको राष्ट्रिय क्रिकेट टोलीको उत्कृष्ट प्रदर्शन र ऐतिहासिक जितप्रति बौद्धिक युवा नेता तथा सामाजिक अभियन्ता चन्द्रशेखर यादवले गहिरो प्रसन्नता व्यक्त गर्दै सम्पूर्ण खेलाडीहरूलाई हार्दिक बधाई तथा शुभकामना दिएका छन्। उनले नेपाली क्रिकेट टोलीले देशको गौरव बढाएको उल्लेख गर्दै यस्तो उपलब्धिले सम्पूर्ण देशवासीलाई एकताबद्ध गर्दै राष्ट्रिय गौरवको अनुभूति गराएको बताए।
नेता यादवले भने, “नेपाली क्रिकेट टोलीले अन्तर्राष्ट्रिय मञ्चमा लगातार दोस्रो पटक उपाधि जितेर हाम्रो राष्ट्रिय पहिचान अझ मजबुत बनाएको छ। खेलाडीहरूको मेहेनत, समर्पण र देशप्रेमको प्रतिफलस्वरूप प्राप्त यो उपलब्धिले सम्पूर्ण नेपालीलाई गर्व गर्न लायक बनाएको छ।”
उनले आगामी दिनमा पनि नेपाली खेल क्षेत्रलाई अझ सशक्त बनाउन सबै सरोकारवालाहरू एकजुट भई काम गर्नुपर्ने आवश्यकता औंल्याए। युवा पुस्ताले खेल क्षेत्रलाई करियरको एक विकल्पका रूपमा हेर्नु पर्ने उनको धारणा छ।
यस ऐतिहासिक जितको अवसरमा देशभर विभिन्न स्थानहरूमा उत्सव र खुसीयालीको माहोल देखिएको छ। नेपाली क्रिकेटप्रेमीहरू सामाजिक सञ्जालमा शुभकामना सन्देश आदानप्रदान गर्दै खेलाडीहरूको प्रशंसा गरिरहेका छन्।
नेपाल क्रिकेट टोलीको यो ऐतिहासिक सफलता खेलकुद क्षेत्रको मात्र नभई सम्पूर्ण राष्ट्रको लागि प्रेरणाको स्रोत बनेको छ।

