एनसेलको लापरबाहीले लक्ष्मीपुर पतारीका बासिन्दा मर्कामा, टावर हटाउने चेतावनी

जनजागरण संवादाता / रामशंकर यादव

सिरहा ८ आश्विन  /  लक्ष्मीपुर पतारी गाउँपालिका–२, पोखर्भिन्ड्डा पर्साका स्थानीयवासी एनसेल मोबाइल नेटवर्क समस्याका कारण लामो समयदेखि संचारविहीन अवस्थामा परेका छन्। एनसेलको टावर सञ्चालनमा आए तापनि प्रभावकारी रूपमा सेवा नदिँदा स्थानीयहरू दैनिक जीवनमा अप्ठ्यारो महसुस गरिरहेका छन्।

स्थानीयहरूका अनुसार, पटक–पटक गुनासो गर्दा पनि एनसेल कार्यालयले कुनै ध्यान नदिएको आरोप छ। यसै सन्दर्भमा, समाजसेवी तथा बौद्धिक युवा नेता चन्द्रशेखर यादवले समस्याबारे खुल्दै भने, “विगत धेरै वर्षदेखि यो समस्या जारी छ, तर एनसेलले समाधान गर्न चासो नदेखाउनु दुर्भाग्यपूर्ण हो। जनताको आवाज सुन्ने चेष्टा नभए अब हामी आफैं टावर हटाउने निर्णयमा जान सक्छौं।”

यादवका अनुसार, नेटवर्क अवरुद्ध हुँदा विद्यार्थी, व्यापारी, कर्मचारी तथा आकस्मिक सेवामा रहेका व्यक्तिहरू प्रभावित भएका छन्। अबको केही दिनभित्र समस्या समाधान नगरे कडा कदम चालिने चेतावनी स्थानीयहरूले दिएका छन्।

स्थानीय जनताको धैर्य सकिँदै गएकाले एनसेलले समस्या समाधानमा तत्काल पहल गर्नुपर्ने माग तीव्र रूपमा उठेको छ। यदि समस्याको समाधान चाँडै नभए टावर हटाउने जनदबाब बढ्दै जाने संकेत देखिएको छ।

 

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ