निर्वाचन तयारीबारे प्रधानमन्त्री कार्कीसँग निर्वाचन आयोगको पदाधिकारीले गरे छलफल

काठमाडौं ७ आश्विन  / प्रतिनिधिसभा निर्वाचनको तयारीका विषयमा प्रधानमन्त्री सुशीला कार्कीसँग निर्वाचन आयोगका पदाधिकारीले मंगलबार छलफल गरेका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा सम्पन्न भेटमा प्रतिनिधिसभा विघटन भई आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचनलाई लक्षित गर्दै आवश्यक कानुनी संशोधन, व्यवस्थापन र स्रोत परिचालनका विषयमा छलफल भएको हो।

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीसहितको टोलीले सरकारसँग निर्वाचन प्रक्रिया प्रभावकारी बनाउन आवश्यक सहकार्यको आग्रह गरेको थियो। छलफलमा सहभागी कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हाले निर्वाचन तयारीमा अवरोध भए त्यसलाई पहिचान गरी समाधान गर्नुपर्नेमा जोड दिनुभयो।

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले प्रभावकारी समन्वयका लागि प्रारम्भिक कुराकानी भएको जनाउँदै आगामी चुनौतीका विषयमा निरन्तर छलफल गरिने जानकारी दिनुभयो। उहाँले निर्वाचन आयोग स्वच्छ, निष्पक्ष, स्वतन्त्र र मितव्ययी निर्वाचन गराउन प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो।

आयोगले प्रतिनिधिसभा निर्वाचन तोकिएको मितिमा सम्पन्न गर्न मतदाता नामावली ऐन, २०७३ संशोधनलगायत आवश्यक कानुनी तथा स्रोतसाधनको सुनिश्चितताका लागि सरकारसँग आग्रह गर्दै आएको छ। हालसम्म १८ वर्ष उमेर पुगेका मतदाताको संख्या १ करोड ८१ लाख ६८ हजार २३० रहेको आयोगले जनाएको छ।

यसअघि असोज २ गते आयोगले गृहमन्त्री ओमप्रकाश अर्यालसँग पनि छलफल गरेको थियो। उपनिर्वाचनको मिति तोकिएपछि असार १६ देखि स्थगित मतदाता नामावली सङ्कलन पुनः खुला गर्न कानुनी प्रबन्ध गर्नुपर्ने देखिएको छ। यसका लागि ऐनको दफा ४ को उपदफा २ संशोधन गर्न अध्यादेश ल्याउने विषयमा सरकार र आयोगबीच छलफल भएको हो।

साथै, गृहमन्त्री अर्यालले सर्वोच्च अदालतको आदेश अनुसार विदेशमा रहेका नेपालीलाई पनि मताधिकार दिने उपायबारे सोच्नुपर्ने सुझाव दिएपछि आयोगले कानुनी विज्ञसँग परामर्श गरेको छ।

गत भदौ २३ र २४ गतेको जेनजी प्रदर्शनपछि उत्पन्न परिस्थितिमा पूर्वप्रधानन्यायाधीश कार्की नेतृत्वको अन्तरिम सरकारले आगामी फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन घोषणा गरिसकेको छ।

 

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ