भारतको ७९औं स्वतन्त्रता दिवस: लाल किल्लाबाट प्रधानमन्त्री मोदीको १२औं सम्बोधन, सुरक्षामा उच्च सतर्कता

भारतले आज १५ अगस्ट २०२५ मा आफ्नो ७९औं स्वतन्त्रता दिवस हर्षोल्लासका साथ मनाउँदैछ। यो अवसरमा प्रधानमन्त्री नरेन्द्र मोदीले राजधानी नयाँ दिल्लीस्थित ऐतिहासिक लाल किल्लाबाट राष्ट्रिय झण्डा ‘तिरंगा’ फहराउनेछन् र राष्ट्रलाई सम्बोधन गर्नेछन्। प्रधानमन्त्री मोदीको यो लगातार १२औं स्वतन्त्रता दिवस सम्बोधन हुनेछ।

यस वर्षको समारोहमा देशभरका विभिन्न राज्य र केन्द्र शासित प्रदेशका प्रतिनिधित्व गर्दै २६ राज्यका ८५ गाउँका सरपञ्चहरूलाई विशेष अतिथिको रूपमा आमन्त्रित गरिएको छ। ‘जनभागीदारी’लाई प्राथमिकतामा राख्दै आयोजित कार्यक्रममा सरपञ्चहरूको सहभागिताले ग्रामीण भारतको प्रतिनिधित्व गर्ने विश्वास गरिएको छ।

समारोहलाई सुरक्षित र व्यवस्थित बनाउन लाल किल्ला र वरपरका क्षेत्रमा बहुस्तरीय सुरक्षा व्यवस्था मिलाइएको छ। दिल्ली पुलिसका अनुसार, ११ हजारभन्दा बढी सुरक्षाकर्मी तैनाथ गरिनेछ भने ३ हजार ट्राफिक प्रहरीले सवारी व्यवस्थापनमा खटिनेछन्।

सुरक्षालाई थप मजबुत बनाउन स्नाइपर टोली, ड्रोन विरोधी एकाइ, उच्च-प्रविधियुक्त सीसीटीभी क्यामेरा, अनुहार पहिचान प्रणाली (Facial Recognition System), स्वचालित नम्बर प्लेट पहिचान प्रणाली (ANPR) र सवारी साधनमुनि निगरानी उपकरण (Under Vehicle Scanning System) जस्ता अत्याधुनिक उपकरणहरू परिचालन गरिएका छन्।

स्वतन्त्रता दिवसको यस ऐतिहासिक अवसरमा सम्पूर्ण देशभर विभिन्न कार्यक्रमहरू, झाँकी प्रदर्शनी, सांस्कृतिक प्रस्तुति र श्रद्धाञ्जली कार्यक्रमहरू आयोजना हुनेछन्। राजधानी दिल्लीमा सुरक्षा र व्यवस्थापनसँगै देशभक्ति र उत्सवको माहोल व्यापक देखिएको छ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ