जनजागरण सम्पादक / चन्द्रशेखर यादव
काठमाडौं २४ साउन — दाजु–बहिनीको अमिट प्रेम र स्नेहको प्रतीकका रूपमा मनाइने हिन्दु धार्मिक पर्व रक्षा बन्धन आज देशभर हिन्दू धर्मावलम्बीहरूले श्रद्धा र भक्तिसाथ धुमधामका साथ मनाइरहेका छन्। यो पर्व विशेषगरी बहिनीहरूले आफ्ना दाजुहरूलाई रक्षा सूत्र बाँधी उनीहरूको दीर्घायु, सफलता र सुरक्षाको कामना गर्दै मनाउने परम्परा रहेको छ।
रक्षा बन्धनको परम्परा वैदिक कालदेखि नै चलिआएको मानिन्छ। पौराणिक ग्रन्थहरूमा यस पर्वसँग सम्बन्धित विभिन्न कथा पाइन्छन्। महाभारतका अनुसार, द्रौपदीले कृष्णको औँलामा चोट लागेको बेला आफ्नो सारीको अंश च्यातेरी उनको औँलामा बाँधिदिएकी थिइन्। त्यसै क्षण कृष्णले जीवनभर द्रौपदीलाई रक्षा गर्ने संकल्प लिएका थिए, जुन रक्षा बन्धनको एक महत्वपूर्ण ऐतिहासिक आधार मानिन्छ।
यस पर्वको अर्को उल्लेखनीय उदाहरणमा इन्द्राणीले असुरहरूसँग युद्धमा गएका आफ्ना पति इन्द्रको सुरक्षाका लागि रक्षा सूत्र बाँधेको प्रसंग पनि पर्दछ। त्यसैदेखि ब्राह्मणहरूले समेत आफ्ना यजमानहरूलाई रक्षा सूत्र बाँध्ने परम्परा सुरु भएको विश्वास गरिन्छ।
आजको दिन बहिनीहरूले विधिपूर्वक आफ्ना दाजुहरूलाई तिलक लगाई राखी बाँध्छन्, मीठा परिकार खान दिन्छन् र उनीहरूको सफल जीवनको कामना गर्छन्। दाजुहरूले पनि बहिनीलाई उपहार दिएर जीवनभर संरक्षण गर्ने वाचा गर्दछन्। कतिपय स्थानहरूमा अविवाहित महिलाहरूले आफूभन्दा जेठो उमेरका पुरुषहरूलाई दाजु स्वीकार गर्दै राखी बाँध्ने चलन पनि छ।
यस अवसरमा विभिन्न धार्मिक स्थलहरूमा विशेष पूजापाठ आयोजना गरिँदैछ। राजधानी काठमाडौं सहित देशका प्रमुख सहरहरूमा रक्षा बन्धनको रौनक विशेष रूपमा देखिएको छ। बजारहरूमा राखी, मिठाई र उपहारहरूको खरिदमा समेत उल्लेखनीय वृद्धि देखिएको छ।
रक्षा बन्धन मात्र एक धार्मिक पर्व नभई पारिवारिक सम्बन्ध बलियो बनाउने सांस्कृतिक अवसर पनि हो। आधुनिक समाजमा भाइबहिनीबीचको प्रेम र सहकार्यलाई अझ प्रगाढ बनाउने सन्देश यो चाडले दिने गर्दछ।

