भारत/ हिन्दुस्तान टाइम्स का अनुसार भारतको उत्तराखण्ड राज्यस्थित खीरगंगा नदीमा मंगलबार दिउँसो अचानक आएको बाढीका कारण ठूलो जनधनको क्षति भएको छ। प्रारम्भिक रिपोर्टअनुसार बाढीमा परेर चार जनाको मृत्यु भएको छ भने कम्तीमा १० जना सैनिकसहित एक सय जना मानिसहरू बेपत्ता भएका छन्।
उक्त बाढी दिउँसो करिब साढे १ बजेतिर आएको थियो। भारी वर्षापछि आएको बाढीले धराली बजार क्षेत्रका घर, होटल, मन्दिरहरू साथै ती क्षेत्रमा रहेका मानिसहरू बगाएका थिए। स्थानीयहरूसँगै पर्यटक पनि बेपत्ता हुनेमा परेको आशंका गरिएको छ।
बेपत्ता भएका सैनिकहरू हर्सिलको तल्लो क्षेत्रमा रहेको सशस्त्र बलको क्याम्पमा बसेका बेला बाढी आएको जनाइएको छ।
घटनापछि उद्धार कार्य सुरु गरिए पनि भारी वर्षा र साँझ परेकाले उद्धारमा कठिनाइ आएको उत्तराखण्डका मुख्यमन्त्री पुष्कर सिंह धामीले जनाएका छन्। उनले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै कठिन परिस्थितिका बीच हालसम्म ८० जनाको उद्धार गरिएको उल्लेख गरेका छन्।
घटनास्थलमा राहत र उद्धार कार्य जारी छ भने हराएका व्यक्तिहरूको खोजी कार्यमा सुरक्षा निकायहरू सक्रिय छन्।
बाढीबाट भएको क्षतिको यकिन विवरण आउन बाँकी रहेको र स्थानीय प्रशासन तथा सेनाको सहकार्यमा विस्तृत अनुसन्धान तथा राहत प्रयास तीव्र रूपमा अगाडि बढाइएको छ।

