जनकपुरमा समाजवादी स बि यु नेपाल र स यू स नेपाल संगठनहरूको विरोध प्रदर्शन, प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाइयो

जनजागरण संवादाता / चन्द्रशेखर यादव

जनकपुरधाम ११ आईतबार — जनता समाजवादी पार्टी नेपाल (जसपा) निकट समाजवादी विद्यार्थी युनियन नेपाल र समाजवादी युवा संघ, नेपालले आज जनकपुरधाममा बृहत विरोध प्रदर्शन गर्दै किसान हितका विविध माग राख्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन्।

प्रदर्शनकारीहरू मुख्यमन्त्री सतीश कुमार सिंह र प्रमुख जिल्ला अधिकारी (सिडिओ) मार्फत प्रधानमन्त्रीलाई बुझाइएको ज्ञापनपत्रमा किसानहरूलाई राहत प्याकेजको घोषणा गर्न, तराई-मधेस क्षेत्रमा पानीको दीर्घकालीन समाधानको व्यवस्था गर्न, चुरे दोहन तत्काल बन्द गर्न र जल–विनाश रोक्न ठोस नीति अवलम्बन गर्न माग गरिएको छ।

संघ–प्रदेश सरकारले कृषि क्षेत्रलाई उपेक्षा गर्दै आएको आरोप लगाउँदै समाजवादी विद्यार्थी र युवा संगठनका नेताहरूले प्रदर्शनको क्रममा “किसान मार, सरकार लाचार”, “चुरे बचाउ, मधेस बचाउ” जस्ता नाराहरू लगाएका थिए।

उनीहरूले मधेसमा दिगो कृषि, वातावरणीय संरक्षण, र जल संकटको समाधानका लागि तत्काल हस्तक्षेप नगरे वर्तमान सरकार जनविरोधी सावित हुने चेतावनी दिएका छन्।

ज्ञापनपत्रमा उल्लेख भएअनुसार, सिचाइ, बिउबिजन, मलखाद, कृषि यन्त्र र किसान कर्जामा सरकारी सहयोग अपर्याप्त रहेको भन्दै तत्काल राहत प्याकेज ल्याउन माग गरिएको छ। चुरे क्षेत्रको अन्धाधुन्ध दोहनका कारण तराई-मधेसमा जल संकट र मरुभूमिकरणको खतरा बढेको भन्दै उनीहरूले तत्काल दोहन रोक्न माग गरे।

समाजवादी विद्यार्थी युनियन र समाजवादी युवा संघले कृषि, पर्यावरण, र जलस्रोत संरक्षणलाई राज्यको प्राथमिकतामा राख्न आग्रह गर्दै चेतावनी दिएका छन् — यदि मागहरू पूरा भएनन् भने आन्दोलनलाई अझ व्यापक बनाइनेछ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ