जनकपुरधाम, १८ असार /
नेशनल लघुबित्त बित्तीय संस्था लिमिटेड, शाखा कार्यालय बिन्धी, धनुषाले आफ्नो १२ औं वार्षिकोत्सवको अवसरमा एकदिने रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। मधेश रक्तसञ्चार सेवा, मुजेलिया जनकपुरधामको प्राविधिक सहयोगमा सम्पन्न उक्त कार्यक्रममा संस्थाका कर्मचारी, ग्राहक सदस्य तथा स्थानिय समुदायका व्यक्तिहरुले सक्रिय सहभागिता जनाएका थिए।
कार्यक्रमको औपचारिक उद्घाटन नेशनल लघुबित्त अनुगमन कार्यालय बर्दिबासका अनुगमन अधिकृत श्री बालिष्टर यादव, जनकपुरधाम उप-महानगरपालिका वडा नं. २३ का अध्यक्ष श्री राघवेन्द्र साह, शाखा प्रमुख श्री पंकज यादव, ईलाका प्रहरी कार्यालय जिरोमाइल धनुषाका इन्चार्ज श्री रामकुमार यादव लगायत अन्य अतिथिहरूले संयुक्तरूपमा दीप प्रज्वलन गरी गर्नुभएको थियो।
कार्यक्रममा विशेष अतिथिका रूपमा नेशनल लघुबित्तका अन्य शाखा कार्यालयहरू बर्दिबास, जलेश्वर, लोहारपट्टी र नगराईनका शाखा प्रमुख क्रमशः जामुन प्रसाद यादव, संजय यादव, मनोज यादव र पुनम कुमारी यादव तथा स्थानीय भद्रभलाद्मीहरूको उपस्थिति थियो। बर्दिबास शाखा प्रमुख जामुन यादवले स्वागत मन्तव्य राखेका थिए भने प्रहरी इन्चार्ज रामकुमार यादवले लघुवित्त संस्थाले समाजमा पुर्याइरहेको योगदानको प्रशंसा गर्दै मन्तव्य राख्नुभएको थियो।
प्रमुख अतिथि राघवेन्द्र साहले ग्रामीण स्तरमा स्वरोजगार प्रवर्द्धनमा लघुवित्तको भूमिका उल्लेखनीय रहेको बताउँदै संस्थाको निरन्तर प्रगतिको कामना गर्नुभयो। कार्यक्रमको अध्यक्षता गरिरहेका अनुगमन अधिकृत बालिष्टर यादवले लघुवित्तको कर्तव्य र दायित्वबारे स्पष्ट पार्दै कार्यक्रम समापन गर्नुभयो।
उक्त रक्तदान कार्यक्रममा ४१ जना दाताहरूले रक्तदान गरेका थिए। शाखा प्रमुख पंकज यादवले कार्यक्रम सञ्चालन गरेका थिए। सामाजिक उत्तरदायित्व वहन गर्न संस्था सदैव तत्पर रहेको सन्देश दिएको यस कार्यक्रमले सामुदायिक सद्भाव अभिवृद्धि गर्न सहयोग पुर्याएको छ।



