सिरहा २४ शनिबार/
सिरहा जिल्लामा लागू औषध तस्करी नियन्त्रणका लागि जिल्ला प्रहरी कार्यालय सिरहाले तीव्र अभियान थालेको छ। यस अभियानको नेतृत्व गर्दै आएका प्रहरी नायब उपरीक्षक (डिएसपी) तथा प्रवक्ता विरेन्द्र कुमार पासवानको कुशल कमान्डिङ् र दृढ भूमिकाले जिल्लाभर लागू औषध कारोबारी तथा माफियाहरुमा त्रास फैलिएको छ।
डिएसपी पासवानका अनुसार, पछिल्ला केही दिनयता प्रहरीले लगातार ठूला गिरोहहरू नियन्त्रणमा लिई कानुनी कारबाही अघि बढाएको छ। “अपराध नियन्त्रणका लागि सबै सरोकारवाला निकायबीच समन्वय आवश्यक छ,” उनले जनजागरण खबरसँगको कुराकानीमा भने, “सीमावर्ती स्थानीय तहका जनप्रतिनिधि, शस्त्र प्रहरी सीमा सुरक्षा बल र नेपाल प्रहरीबीचको सहकार्यबाट अझ प्रभावकारी नियन्त्रण सम्भव छ।”
प्रवक्ता पासवानले २० देखि ३० वर्ष उमेर समूहका युवाहरूमाथि विशेष निगरानी आवश्यक रहेको धारणा व्यक्त गरे। सीमावर्ती क्षेत्रमा आवतजावत गर्ने बेला आवश्यक कागजात जाँचसँगै सही पृष्ठभूमि परीक्षण गरिएमा लागू औषध नियन्त्रण अभियान अझ सशक्त बन्ने विश्वास उनले व्यक्त गरे।
सिरहा विगतमा लागू औषध कारोबारको अखडाका रूपमा चिनिँदै आएको भए तापनि, डिएसपी पासवानको आगमनपछि अवस्था फेरिएको छ। प्रहरीले चौतर्फी निगरानी र सक्रियता बढाएसँगै कारोबारीहरु भूमिगत हुन थालेका छन्। स्थानीय स्रोतका अनुसार लागू औषध तस्करीमा संलग्न धेरै गिरोहहरू अहिले प्रहरी कारबाहीबाट बच्न जिल्लाबाट पलायन भइरहेका छन्।
प्रहरी नायब उपरीक्षक विरेन्द्र कुमार पासवान सिरहा जिल्लामा एक निडर, इमान्दार र कुशल प्रशासकको रूपमा परिचित हुँदै आएका छन्। उनको सक्रियता र प्रतिबद्धताले जिल्लामा शान्ति, सुरक्षा र सुशासन कायम गर्न उल्लेखनीय योगदान पुर्याएको देखिन्छ।

