लहानको सलहेश फूलबारीमा यस वर्ष पनि रहस्यमय फूल फुल्यो, राजा सलहेशको पुनरागमनको संकेत मानिँदै

जनजागरण सम्बादाता /रामशंकर यादव
लहान १ बैशाख – नववर्षको अवसरमा प्रत्येक वर्षको बैशाख १ गतेका दिन सिरहा जिल्लाको लहान नगरपालिका–१२ र २२ मा अवस्थित ऐतिहासिक तथा सांस्कृतिक स्थल सलहेश फूलबारीमा यस वर्ष पनि वैशाख १ गते बिहान रहस्यमय ढंगले एक अनौठो फूल फुलेको छ। प्रत्येक वर्ष नयाँ वर्षको पूर्वसन्ध्यामा मात्र एकचोटि फुल्ने यो विशेष फूल हेर्न यसपटक पनि टाढाटाढाबाट श्रद्धालु र पर्यटकहरूको ठूलो भिड लागेको छ।

यो स्थल मिथिला क्षेत्रका वीर योद्धा, न्यायप्रिय राजा तथा जननायकका रूपमा प्रसिद्ध राजा सलहेशसँग सम्बन्धित छ। जनविश्वास अनुसार, राजा सलहेशले यही फूलबारीमा आफ्नी प्रेमिका देऊसियासँग प्रेम भेटघाट गर्ने गर्दथे। प्रेम, आस्था र सम्मानको प्रतीक मानिने यस स्थलमा हरेक वर्ष स्वाभाविक रूपमा फुल्ने यो फूल न त कसैले रोपेको हुन्छ, न मलजल, न सिँचाइ गरिएको हुन्छ। यिनै कारणले यो फूल धार्मिक आस्थाका साथै वैज्ञानिक अध्ययनको विषय पनि बन्ने गरेको छ।

स्थानीय बासिन्दा र श्रद्धालुहरूको विश्वास अनुसार, यो फूल फुल्नु राजा सलहेशको “पुनरागमनको संकेत” हो। यही विश्वासले हजारौं भक्तजनहरू फूलबारीमा पूजाआजा, भजनकीर्तन तथा विभिन्न धार्मिक कार्यक्रमहरूमा सहभागी भइरहेका छन्।

राजा सलहेशको कथा अनुसार, उनी समाजमा समानता, न्याय र प्रेमको स्थापना गर्नेमध्ये एक थिए। उनले आफ्नो जीवनमा जातपात, छुवाछुत र अन्यायविरुद्ध लड्दै सामाजिक मेलमिलापको भावना फैलाएका थिए। देउसिया सँगको प्रेमकथा अझै मिथिला क्षेत्रका लोककथामा जीवन्त छ।

धार्मिक तथा सांस्कृतिक दृष्टिकोणले महत्वपूर्ण मानिने सलहेश फूलबारीलाई संरक्षण र प्रवर्द्धन गर्नुपर्ने आवाज पनि अहिले उच्च रूपमा उठ्न थालेको छ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ