काठमाडौं, २८ चैत — राष्ट्रपति रामचन्द्र पौडेलले जैन धर्मका प्रवर्तक महावीरको २६२४औं जन्म जयन्तीका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली जैन धर्मावलम्बीहरूलाई सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गरेका छन्।
शुभकामना सन्देशमार्फत राष्ट्रपति पौडेलले महावीरले सिकाएको अहिंसा र संयमको मार्ग अवलम्बन गर्न सकेमा राष्ट्रिय एकता, सहिष्णुता र सामाजिक सद्भाव मजबुत हुने विश्वास व्यक्त गरेका छन्। उनले महावीर जयन्तीले आपसी विश्वास, प्रेम र एकताको भावना प्रगाढ बनाउन प्रेरणा दिने बताए।
हरेक वर्ष चैत्र शुक्ल त्रयोदशीका दिन विश्वभर रहेका जैन धर्मावलम्बीहरूद्वारा विविध कार्यक्रम आयोजना गरी महावीर जयन्ती मनाउने गरिन्छ। महावीरले अहिंसा, सत्य, अचौर्य, ब्रह्मचर्य र अपरिग्रहका सिद्धान्तमार्फत मोक्ष प्राप्तिको मार्ग देखाएका थिए।

