काठमाडौँ, २९ माघ – जनता समाजवादी पार्टी (जसपा), नेपालले सरकारले ल्याएको भूमि सम्बन्धी अध्यादेशको विपक्षमा उभिने निर्णय गरेको छ। सिंहदरबारमा आज आयोजित जसपा नेपालको संसदीय दलको बैठकले उक्त अध्यादेशमा सरकारलाई समर्थन नगर्ने निर्णय गरेको हो।

बैठकमा जसपा नेपालका राष्ट्रिय उपाध्यक्ष, पूर्व मन्त्री र सांसद राजकिशोर यादवले भूमि सम्बन्धी ऐनमा २०७८ माघ २८ गते गरिएको आठौं संशोधनको दायरा फराकिलो गर्दै भूमिहीन सुकुम्वासी, भूमिहीन दलित र अव्यवस्थितिलाई जग्गा वितरण गर्ने बहानामा ठूला भू-माफियाहरुलाई फाइदा पुर्याउने उद्देश्यले सरकारले अध्यादेश ल्याएको आरोप लगाए। उनले भने, “यस अध्यादेशमा भू माफियाहरुलाई सहयाेग गर्ने र गरीब, असाहय वर्गको हितमा नपर्ने तत्व रहेको छ। जसपा नेपाल कदापी यसलाई स्वीकार्दैन।”
यसैगरी, जसपा नेपालले सरकारले प्रस्तुत गरेका अन्य ५ वटा अध्यादेशको बारेमा पार्टीमा छलफल गरेर ठोस निर्णय लिने तयारी गरेको छ। भूमि सम्बन्धी मुद्दामा सरकारसँगको विरोधको निर्णय जसपा नेपालको दृढ र एकजुट असहमति जनाउने कदमको रूपमा देखिएको छ, जसले सरकारसँगको भविष्यको राजनीतिक सम्बन्धमा थप चुनौती थप्ने संभावना रहेको छ।
जसपा नेपालले भूमि सम्बन्धी अध्यादेशमा सरकारसँगको टकरावको सन्देश स्पष्ट गरेको छ भने, अन्य अध्यादेशहरूको बारेमा भविष्यमा पार्टीको आधिकारिक निर्णय आउने जनाएको छ।

