सिरहा, २८ माघ – समाजवादी विद्यार्थी युनियन नेपालको एक महत्वपूर्ण बैठक रोयल सफ्टेक कलेज लहानमा सम्पन्न भएको छ। यस बैठकको अध्यक्षता समाजवादी विद्यार्थी युनियन नेपालका जिल्ला अध्यक्ष उमेश कुमार साहले गर्नुभएको थियो भने प्रमुख अतिथिका रूपमा मधेस प्रदेशका उपाध्यक्ष चन्द्रशेखर यादव उपस्थित हुनुहुन्थ्यो।
बैठकमा कलेजको ११ सदस्यीय नयाँ कमिटी गठन गरिएको छ, जसको अध्यक्षमा दीपेश भण्डारी चयन भएका छन्। उक्त कमिटीमा विभिन्न सक्रिय र योग्य विद्यार्थीहरूको नाम सिफारिस गरिएको छ।

कार्यक्रमको प्रमुख अतिथिका रूपमा बोल्दै मधेस प्रदेश उपाध्यक्ष चन्द्रशेखर यादवले कमिटीलाई बधाई दिँदै आगामी जिल्लास्तरीय अधिवेशन फागुन १० गते भव्यताका साथ आयोजना हुने जानकारी दिएका छन्। उहाँले सबैलाई आगामी कार्यहरूको लागि तयार रहन आग्रह गर्दै, यस नयाँ नेतृत्वले कलेज र समुदायको विकासमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गर्नुभयो।

बैठकमा उपस्थित अन्य विद्यार्थी र सदस्यहरूले पनि आगामी योजनाहरूसँग सम्बन्धित बिभिन्न विचार प्रस्तुत गरे। यस क्रममा, बैठकले आगामी कार्य योजनामा केन्द्रीत भएर विद्यार्थीहितका विभिन्न कार्यक्रमहरू सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।
समाजवादी विद्यार्थी युनियन नेपालको नयाँ कमिटीले कलेजको शैक्षिक र सामाजिक वातावरण सुधार गर्नका लागि यथासम्भव प्रयास गर्ने जनाएका छन्।

