उपेन्द्र यादवले १५ वर्षपछि लखनउ पुगेर परिवर्तनको अवलोकन गरे, भारत र नेपाल समाजवादी एकतामा सहमत

जनजागरण प्रमुख : चन्द्रशेखर यादव

काठमाडौँ, २४ पौष – जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव १५ वर्षपछि भारतको उत्तर प्रदेशको राजधानी लखनउ पुगेका छन्। यस यात्राले खास महत्व राखेको छ, खासगरी मधेसवादी दलहरूले सरकारविरुद्ध मोर्चाबन्दी गर्ने तयारी गर्दा उनी भारतको समाजवादी पार्टीका अध्यक्ष अखिलेश यादवसँग भेट गर्न गएका थिए।

उपेन्द्र यादवले आफ्नो नेपालगन्जको कार्यक्रम सकाएर लखनउ जानुभयो। पार्टीका एक नेताका अनुसार, “उनको लखनउ जानको लागि कुनै पूर्वनिर्धारित कार्यक्रम थिएन, तर अध्यक्षज्यूले अचानक भारत जाने निर्णय गर्नुभयो र त्यसपछि लखनउ पुगेर अखिलेश यादवसँग भेट गर्नुभयो।”

यस भेटमा, यादवद्वारा भारतीय समाजवादी पार्टीका नेताहरूसँग गरेको संवादमा विशेषगरी राजतन्त्रको विरोध र समाजवादी विचारका आधारमा विकासको आवश्यकता सम्बन्धी चर्चा भएको थियो। यादवले भारतीय समाजवादी नेताहरूको सहयोग र इतिहासका विभिन्न घटनाहरूलाई स्मरण गर्दै 1942 मा भारत छोडो आन्दोलनको क्रममा डा. राममनोहर लोहियाले नेपालमा आजाद रेडियो स्थापना गरेका कुरा पनि उल्लेख गरे।

लखनउ पुगेर, उपेन्द्र यादवले त्यस स्थानको परिवर्तनलाई देखेका छन्। उनले जनेश्वर मिश्र पार्क, प्लाजा मल, एकना स्टेडियम, लखनउ–आगरा एक्सप्रेस वे, मेट्रो रेल जस्ता समाजवादी सरकारको नेतृत्वमा बनेका संरचनाहरूको प्रगति देखेर सकारात्मक धारणा राखेका छन्। उनी भन्छन्, “लखनउमा सुधारको राम्रो अवस्था छ र त्यहाँको सडकहरू पनि निकै सुधारिएका छन्।”

समाजवादी पार्टीका अध्यक्ष अखिलेश यादवले भारत र नेपालको समाजवादी वैचारिक एकतामा जोड दिँदै भने, “समाजवादी दृष्टिकोण नै विकासको सही बाटो हो। पुँजीवाद कुनै पनि हालतमा विकासको विकल्प होइन।” उनले एसियामा भईरहेको भूराजनीतिक परिवर्तन र नेपाल–भारत सम्बन्धको महत्त्वलाई विशेष रूपमा उल्लेख गरेका छन्।

अखिलेश यादवले नेपालको विकासमा भारतको सहयोगको महत्त्व औंल्याउँदै नेपाल र भारतको बीचमा व्यापार र पर्यटन क्षेत्रको सहकार्यलाई बढावा दिनुपर्ने धारणा राखेका छन्। उनले ग्वालियर–इटावादेखि लिपुलेकसम्म र जनकपुरदेखि अयोध्या र झाँसीसम्मका राजमार्ग निर्माणले दुई देशका सम्बन्धलाई थप सुदृढ बनाउन मद्दत गर्ने बताए।

अध्यक्ष उपेन्द्र यादवले अखिलेश यादवलाई जनकपुर आउन निम्तो दिएका छन्, र भविष्यमा नेपाल र भारतको बीचमा बढी सहकार्यको सम्भावनालाई प्रोत्साहित गर्ने आशा व्यक्त गरेका छन्।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ