विदेशबाट फर्केपछि स्थानीय वालिङ बजारमा फर्निचर व्यवसायी बनेका डुम्रेले भीडभाड र धेरैजनासँगको जमघटबाट टाढा रहन गाउँ फर्कने निधो गरे । केही न केही काम गरिरहन रुचाउने डुम्रेलाई कोरोना कहरका कारण गरिएका बन्दाबन्दीले छटपटी बनायो । फलस्वरुप गाउँको खाली जग्गालाई उपयोग गरेर सानैदेखिको कृषि कर्मको रहर पूरा गर्ने बेला आएको महसुस गरायो र डुम्रेलाई बजारको पेशा छुटायो । के गर्दा ठिक हुन्छ भनेर खोज्ने क्रममा केरा रोजेको डुम्रेले सुनाए । बाँदरबाट नोक्सान नहुँने र उत्पादन पनि धेरै लिन सकिने भएकाले पनि केरा खेति अपनाएको उनले बताए ।
गवारोले नखाने र फल पनि राम्रो दिने सुनेपछि नेपालगञ्जबाट टिस्यु कल्चरको केरा लगाएको टुकप्रसाद बताउँछन् । सुरुमा नेपालगञ्जबाट बिरुवा ल्याएको र त्यहीँबाट प्राविधिक सहयोग लिनुका साथै खरिद पनि उसैले गरिदिने सर्तमा केराखेतिको थालनी गरे, तर बन्दा बन्दीले समय समयमा टाढाबाट आउने सम्भावना रहेन । यसैक्रममा एकैचोटी धेरै उत्पादन भयो भने बिक्रि होला कि नहोला भनेर उनलाई चिन्ता लाग्यो । तर स्थानीय वालिङ बजारमा बुझ्दा एउटै थोक विक्रेताको पसलमा महिनामा २५ ट्रक केरा आउँदो रहेछ भने यस्ता अरु पनि धेरै व्यापारी छन् । यसरी बिक्रिको लागि पनि कुनै समस्या नहुने भएपछि डुम्रेलाई उत्साही बनाएको छ ।
सुरुमा यो विग्रियो, पाखोबारीमा केरा लगाएर के हुने हो र भन्ने छिमेकिहरुको पनि मन फर्किएको छ । गरे हुँदो रहेछ, ठीक गरेछ, हामीले पनि गर्न पाए हुन्थ्यो, पछि परिएछ भन्ने महसुस गरेर अरु दुइ चार जनाले एक दुइ वटा बारीका गरामा लगाउन थालिसकेका छन् । अबको केहि वर्षमा भंगेनीको पाखो केरा र सुन्तलामय हुने संकेत देखिइसकेको छ ।
विदेशको प्रचण्ड गर्मीमा काम गरेर वर्षमा चार पाँच लाख कमाइएला तर यहाँ घर परिवारसँग बसेर थोरै परिश्रम गरेर पनि कमाउन सकिन्छ भने किन नगर्ने भनेर पनि काम गर्न थालेको डुम्रेले बताए । यति केराखेतिबाट वर्षमा सात आठ लाख सजिलै कमाउन सकिने डुम्रेको अनुमान छ । खाली रहेको जमिन प्रयोगमा पनि आउने र कमाई पनि हुने भएकाले अब कोही युवा प्रदेश जानुपर्दैन यहीँ कमाइ गर्न सकिन्छ भन्ने सन्देश दिनेमा डुम्रेको विश्वस्त छन् ।
सुन्तला या कुनै यस्तै व्यवसाय गर्छु भनी बुवासँग पैसा माग्दा पाइन तर विदेश जानका लागि भनेपछि पाएँ । विदेश गएपछि पैसा निश्चित कमाइन्छ तर यहाँ हुन्छ कि हुँदैन भनेर अनिश्चित सम्झने गाउँलेको बुझाई छ । डुम्रे भन्छन—“राम्रोसँग बुझाउन नसक्दा पनि विदेश जानुपर्ने वाध्यता रह्यो, परिवारको खुशीका लागि भएपनि विदेश लागें । उ बेलामा केरा अथवा सुन्तला लगाएको भए अहिले कस्तो हुँदो हो भनी पश्चाताप लागेको छ । तर पनि समय वितेको छैन अब पनि गर्न सकिन्छ भनेर विश्वास लिएर गरेको छु, विश्वास गरे अनुसार राम्रो भएको छ र अब सुन्तला र टिमुर पनि लगाउने योजना छ ।”
डुम्रे भन्छन्—“वास्तवमै कृषिमा सम्भव छ, कृषि पेशा गरेर राम्रोसँग जीविकोपार्जन गर्न सकिन्छ भन्ने आत्म विश्वास छ । कृषि सम्बन्धी पूर्ण ज्ञान नभएको हुनाले हामी पछि परेका हौं । कृषि सम्बन्धी स्थानीय पालिकाले पनि बेला बेलामा प्राविधिक टोली सहित अनुगमन गर्ने, आवस्यक सुझ बुझ गरी काम गर्ने हो भने धेरै राम्रो छ ।”
राज्यले किसानलाई नगद अनुदान भन्दा पनि प्राविधिक सल्लाहको जरुरत छ । प्राविधिक सल्लाह, उपकरण सहितको प्रविधिको ज्ञान तथा सीप प्रदान गर्नसके अनुदानको आवस्यक नपर्ने डुम्रेको धारणा छ ।

