सत्ता-प्रतिपक्ष आमनेसामने

  • विपक्षी दलको प्रहारको सत्तापक्षले प्रतिवाद गर्ने सहमति
  • सत्तापक्ष र विपक्षी भिड्दा लोकन्त्रलाई कति फाइदा गर्छ भनेर दलहरुले कति मूल्याङ्कन गरेका होलान् ?  प्रमुख दल भिड्दा उत्पन्न हुने परिस्थितिलाई कसरी व्यवस्थापन गर्न सक्छन् कि सक्दैनन् ?: भोजराज पोखरेल

काठमाडौँ — सत्तापक्ष र विपक्ष दलहरु एकअर्कालाई आरोपप्रत्यारो गर्दै आमनेसामने भएका छन् । साउन पहिलो साता कांग्रेस एमाले गठबन्धन सरकार बनेपछि आक्रामक बनेको माओवादी केन्द्रको नेतृत्वमा विपक्षी दलहरु संगठित भएका छन् ।

माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय प्रजातन्त्र पार्टी र आम जनता पार्टीले संयुक्त रुपमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई सोमबार ज्ञापनपत्र बुझाएर सरकारविरुद्ध खनिए ।

। त्यसको दुई दिनपछि बुधबार ओलीले सत्तारुढ दलको बैठक गरी संयुक्त रुपमा सरकारको पक्षमा उभिने सहमति गरे । ‘राष्ट्रिय मुद्दामा एक ठाउँमा उझिने’ समदारी गरेका सत्तापक्षीय दललाई विपक्षीको आरोपमा प्रतिवाद गर्न ओलीले आग्रह समेत गरेका थिए ।

सरकारले एक सय दिनका उपलब्धी सार्वजनिक गर्नेक्रममा विपक्षीले राष्ट्रिय एकतालाई बिथोल्ने र प्रतिगमनतर्फ लगेको गम्भीर आरोप लगाए ।

‘सरकारले १०० दिन पूरा गरेपछि होइन, सरकार बनेकै दिनदेखि विरोध सुरु गरियो । यसको कारण थियो– देशमा साम्प्रदायिक विद्वेष खडा गर्ने, अराजनीतिक बोली र व्यवहारबाट हाम्रो सभ्यता र संस्कृतिमाथि हमला गर्ने, चलिरहेका उद्योगहरु बन्द गराउने, पूँजी पलायन गराउँदै देशको अर्थतन्त्र र वाणिज्य क्षेत्रलाई तहस नहस पार्ने र नयाा उद्योग स्थापना हुन नदिने’ ओलीले सम्बोधन गर्दै भनेका छन् ‘अहिले साम्प्रदायिक विद्वेष, घृणा र परस्पर बमेलको वातावरण पैदा गरेर हाम्रो राष्ट्रिय एकतालाई बिथोल्ने र प्रतिगमनतफ लैजाने प्रयास पनि भइरहको छ ।’

उनले प्रतिगमनतिर फर्काउने प्रयासलाई सत्ता गठबनधनले विफल पार्ने चेतावनी समेत दिए । ‘नेपाल र नेपालीलाई प्रतिगमन कुनै हालतमा स्वीकार्य छैन । सरकारले लोकतन्त्रलाई सुदृढ गर्न बनेको संविधानको रक्षा गर्ने छ’ उनले भने, ‘साम्प्रदायिक विद्वेष र घृणा होइन, सामाजिक न्याय र समानतामा आधारित सामाजिक सद्भावको बाटोबाट राष्ट्रिय एकता कायम गर्ने हाम्रो नीति दृढताका साथ कार्यान्वयन गर्ने छ । हाम्रा सुन्दर, शिष्ट र समृद्ध सामाजिक–सांस्कृतिक मूल्यहरुलाई कमजोर पार्ने प्रयत्नलाई असफल बनाउने छ ।’

विपक्षी दलहरुले कांग्रेस एमाले गठबन्धनलाई ‘सरकार टिकाउन दुई दलीय तानाशाही लाद्न’ खोजेको आरोप लगाएका छन् ।

राज्य सामु आएका जल्दा बल्दा समस्याहरुलाई सम्बोधन गर्न संसदमा रहेका प्रतिपक्षी दलहरु समेतको सल्लाह सहयोग लिई एकताको सन्देश प्रवाहित गर्नुको साटो सरकार टिकाउन दुई दलीय तानाशाही लाद्न तथा अन्य दलहरुलाई विभाजन गर्ने उद्देश्य राखेर राजनीतिक दलसम्बन्धी अध्यादेश जारी गर्ने जस्ता कुनै पनि कार्य नगरियोस्’ पाँच प्रतिपक्ष दलका अध्यक्षले हस्ताक्षर गरेको ज्ञापनपत्रमा भनिएको छ ।

विपक्षी दलले बाढी, पहिरो र डुबान पीडितलाई राहत र पुनस्थापना गर्न एक सातादेखि एक महिनाको अल्टिमेटम दिए । सरकारको एक दिन पुरा गरेकै दिन प्रतिपक्ष दलका प्रमुख नेताहरुले संयुक्त रुपमा राष्ट्रपति रामचन्द्र पौडेललाई बुधबार भेटेर कांग्रेस एमाले निरंकुश बाटोमा अघि बढ्ने जोखिम रहेको भन्दै ध्यानाकर्षण गराए ।

विपक्षी दलले सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पक्राउप्रति संकेत गर्दै राजनीतिक सहिष्णुणा प्रतिकूल व्यवहार देखाएको र सहकारी ठगीमा कांग्रेस उपसभापति धनराज गुरुङ, एमाले नेता ऋषिकेश पोखरेलमाथि अनुसन्धान नभएको भन्दै आपत्ति जनाएका छन् ।

‘सरकारबाट लोकतन्त्रालाई दुई ठूला दलतन्त्रमा परिणत गर्ने र अन्य दलहरुलाई विभिन्न ढंगले कमजोर पार्ने कार्य गर्दै राजनीतिक सहिष्णुता प्रतिकूल व्यवहार प्रदर्शन गरिएको छ’ विपक्षीको निश्कर्ष छ ।

सहकारी ठगीमा रास्वपा सभापति लामिछानेलाई पक्राउ गर्नु राजनीतिक प्रतिशोध भन्दै विरोध प्रर्दशन गरिरहेका बेला माओवादी केन्द्रले पनि कात्तिक १० मा काठमाडौंमा खबरदारी सभा राखेको छ ।

खबरदारीसभाको औचित्यबारे जानकारी दिन आयोजना गरिएको पत्रकार सम्मेलनमा माओवादी उपाध्यक्ष एबं प्रवक्ता अग्निप्रसाद सापकोटाले बिहीबार विपक्षी दलका नेतालाई छानीछानी मुद्दा लगाएर जेल हालेको आरोप लगाए ।

‘हाम्रो नेतृत्वको सरकारका बेला कानुनले प्रमाण भेटेसम्म जसलाई पनि कार्वाही गरे हुन्छ र दोषी कोही नछुट्न, निदोष कोही नपुरुन् भनेर कार्वाही गरिएको थियो । अहिले विपक्षी दलका व्यक्तिहरुलाई छानिछानि मुद्दा लगाउने जेल हाल्ने गरिरहेको छ’ सापकोटाले भने, ‘सरकारले आफ्नै नेताहरुलाई जोगाइरहेको छ । कांग्रेसका उपसभापति धनराज गुरुङ, एमालेका ऋषिकेश पोखरेललवायतलाई प्रमाण हुँदाहुँदै खुलारुपमा संरक्षण गरिएको छ ।’

माओवादी नेतृत्व सरकारले सुरु गरेका भ्रष्टाचार नियन्त्रण र सुशासनका कामहरुलाई ओली सरकारले उल्ट्याउने काम गरेको आरोप समेत लगाए ।

माओवादी केन्द्रले सरकारले एक सय दिनको अवधिमा सुशासन, भ्रष्टाचार नियन्त्रणलगायत दैनिक प्रभावकमारी सेवा प्रवाह दिन नसकेको, सरकारका निकायमा ‘अनावश्यक’ हस्तक्षेप गरेको भन्दै खबरदारीसभा गर्न लागेको दाबी गरेको छ ।

विपक्षीले एमाले मुख्यालय निर्माणका लागि व्यवसायी मीनबहादुर गुरुङको दानलाई माओवादीले चर्को आलोचना गरेको छ ।

‘यी सय दिनमा यो सिलसिला कहाासम्म पुग्यो भने विशेष अदालतबाट ललिता निवास जग्गा प्रकरणमा दोषी ठहर भएको र प्रधानमन्त्री मातहत रहेको सम्पत्ति शुद्धिकरण विभागले छानबिन गरिरहेको व्यापारीबाट प्रधानमन्त्रीकै दलको भवन बनाउन अर्बौंको जग्गा सम्पूर्ण मूल्यमान्यता लत्याएर कानुनको उपहास गर्दै चन्दा लिइएको छ’ माआवादीले आरोप छ ।

प्रधामन्त्री ओलीले विपक्षीको नाम नलिई भ्रष्टको मोर्चा बनाएको आरोप लगाए । ‘भ्रष्टाचारका कसुरमा फस्ने त्रास र त्यसबाट उम्किने आकांक्षा, भ्रष्ट र भ्रष्टाचारका मतियार जोगाउने उद्देश्यका साथ देशमा अस्थिरता र अराजकता फैलाउन खोज्ने तत्वहरु सक्रिय रहको हामीले देखिरहेका छौं’ उनको आरोप छ, ‘सरकारले विकास र सुशासनका लागि सही दिशामा काम अघि बढाएकाले भ्रष्टहरुको मोर्चा बन्नु बग्लै कुरा हो ।’

प्रमुख दुई ठूला दल राजनीतिक स्थिरता र सुशासनमा प्रतिवद्ध भएको उल्लेख गर्दै अघिल्लो सरकारले विथोलको सामाजिक जीवनलाई सुसंस्कृत बनाउने बाटोमा सरकार अघि बढेको बताए ।

‘अफवाह, झुठ, स्टन्ट र अराजकताले बिथोलेको सामाजिक जीवनलाई यथार्थमा आधारित, शान्त र सुसंस्कृत बनाउनु पर्छ ’ ओलीको भनाइ थियो ।

विपक्षीले राष्ट्रियताको विषयमा संवदेनशील नभएको सुशासन र विकासको काममा सम्झौता गरेको आरोप लगाएपछि ओलीले ‘राष्ट्रियताको रक्षा, राष्ट्रिय हितको संरक्षण, सुशासन र विकासका काममा सरकारले कसैसाग कुनै सम्झौता नगर्ने’ बताए ।

राजनीतिक विश्लेषक एबं पूर्व प्रमुख निर्वाचत आयुक्त भोजराज पोखरेलले सत्तापक्ष र विपक्षी एकअर्काप्रति आलोचक हुनु लोकतन्त्रमा स्वभाविक भएको उल्लेख गदै सरकार बढी जिम्मेवार भएर सेवा प्रवाह राम्रो प्भावकारी बनाउनु पर्ने बताए ।

सत्ता पक्ष र विपक्षमा भएका प्रमुख दलहरु एकआपसमा भिड्दा गैरलोकतान्त्रिक शक्तिले फाइदा उठाउन सक्नेतर्फ सतेत हुनुपर्नै बताए ।

‘सत्तापक्ष र विपक्षी भिड्दा लोकन्त्रलाई कति फाइदा गर्छ भनेर दलहरुले कति मूल्याङ्कन गरेका होल्ना ? पक्कै पनि हिसाब गरेको हुनुहुपर्छ’ उनले भने ‘यहाँ दलहरुप्रति अघिदेखि धेरै असन्तुष्टि छन् । असहमत जनाउने समूह बढ्दै गएका छन् । असन्तुष्ट शक्ति एकै ठाउँमा आएर यो प्रणाली अप्ठ्यारो पार्ने संभावना हुन्छ’ उनले भने, ‘प्रमुख दल भिड्दा उत्पन्न हुने परिस्थितिलाई कसरी व्यवस्थापन गर्न सक्छन् कि सक्दैन ? सबै पक्ष जिम्मेवारी भएर जानुपर्छ ।’

उनले सत्तापक्ष र विपक्षी दलहप्रति विश्वास घट्दै गएकाले दुबै पक्ष जिम्मेवार भएर प्रस्तुत हुनुपर्ने बताए । ‘सत्तापक्षको राम्रो काम गरेर, असल शासन माध्यमबाट जनतालाई विश्वास दिने हो’ उनले भने, ‘सत्तापक्षले वक्तव्य बाजीभन्दा राम्रो राम्रो काम गर्नु उचित छ । बोलीले होइन, कामले गरे देखाए विश्वास बढिहाल्छ ।’

 

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ