काठमाडौँ — बाढीपहिरोले पृथ्वी राजमार्गलगायत सडक अवरोध हुँदा यात्रुको चाप आन्तरिक उडानमा परेको छ । आन्तरिक उडानको तालिकाभन्दा आइतबार र सोमबार ५ घण्टासम्म डिले (ढिलाइ) भई उडान भएको विमानस्थलस्थित वायुसेवा कम्पनीहरूले बताए । आन्तरिक टर्मिनलमा यात्रुको चाप बढेका कारण धेरैजसो यात्रुको भीड र लाइन टर्मिनल भवनबाहिर पार्किङसम्मै देखिएको थियो ।
सामान्य दिनमा बिहान ६ बाट सुरु भई राति १० बजे हाराहारीभित्र भइसक्ने आन्तरिक उडान राति २ बजेसम्म भए । पोखराका लागि उडेका बुद्ध एयरका जहाज राति त्यहाँ भिजिबिलिटीका कारण अवतरण हुन नसकेर राति काठमाडौंमै फर्किएका थिए । ती यात्रुलाई टिकट रकम फिर्ता र होटलमा राख्नेलगायत व्यवस्थापकीय काम सक्दा आइतबार राति साढे २ बजेको थियो ।
आइतबार काठमाडौंबाट दुईतर्फी २ सय ६६ वटा उडान भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रवन्धक जगन्नाथ निरौलाले जनाए । यी उडानबाट १६ हजार ५ सय ५३ जना यात्रुले सेवा लिए । मौसमका कारण आइतबार पोखरा, सिमरा, लुक्लालगायत स्थानका लागि तोकिएका ४० वटा उडान रद्द भएको उनको भनाइ छ ।
सात वटा आन्तरिक वायुसेवा कम्पनीमध्ये बुद्ध एयर, यती एयर र श्री एयरले आइतबारयता प्राधिकरणबाट उडान अनुमति लिएअनुसार अधिकतम उडान गरेका छन् । ‘पछिल्लो बाढीअघि आन्तरिक वायुसेवाले यात्रुहरूको कमीका कारण अनुमति लिएका सबै संख्याअनुसार उडान गरेका थिएनन् । कतिपय सेक्टरका उडान मर्ज गरिएका थिए । कतै रद्द गरिएका थिए,’ निरौलाले भने, ‘तर आइतबारयता अनुमति पाएकै संख्याअनुसार विमान उडाइएको छ ।’ मौसम र नियमित उडान शुक्रबार र शनिबार प्रभावित भएपछि रोकिएका यात्रुको चाप एकैसाथ आइपरेका कारण उडान पाँच घण्टासम्म डिले भएको निरौलाको भनाइ छ ।
बुद्धलाई काठमाडौंबाट सुगम रुटका लागि दुईतर्फी १ सय ६२, यतीलाई ७२ र श्रीलाई ६२ वटा उडान अनुमति दिइएको नागरिक उड्डयन प्राधिकरणका सहप्रवक्ता ज्ञानेन्द्र भुलले जनाए । दुर्गम उडान गर्ने सीतालाई काठमाडौंबाट दुइतर्फी २०, नेपाल वायुसेवा निगमलाई १४ र समिट एयरलाई ८ वटा दुर्गम उडानको अनुमति दिइएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको एक मात्र धावनमार्गको प्रतिघण्टा क्षमता ३६ वटा जहाज उडान/अवतरण हो । तर आइतबार र सोमबार प्रतिघण्टा ४० उडान भए ।

