युद्धले लेबनानी विस्थापित,अन्योलमा नेपाली श्रमिक

  • शरणार्थीसम्बन्धी राष्ट्रसंघीय नियोग (यूएनएचसीआर) का अनुसार पछिल्लो युद्धबाट ९० हजार विस्थापित भएका छन्, १७ हजार सिरियाली शरणार्थी स्वदेश फर्केका छन्

काठमाडौँ — इजरायल र हेजबुल्लाहबीचको लडाइँ चर्कंदै गएपछि लेबनानमा कार्यरत घरेलु महिला श्रमिकहरू त्रसित बनेका छन् । असुरक्षा बढ्दै गएपछि उनीहरू रोजगारदातामाथि नै पूर्ण रूपमा आश्रित हुनुपर्ने अवस्था बन्दै गएको छ । तत्काल लेबनान छाडिहाल्ने मनस्थिति नबनाए पनि उनीहरू सुरक्षाका लागि रोजगारदाताले लैजाने ठाउँमा स्थानान्तरण हुन तयार भएर बसेका छन् ।

गत सोमबारदेखि हेजबुल्लाह र इजरायली सेनाबीच लडाइँ चर्किएको हो । इजरायली सेना हेजबुल्लाहको नियन्त्रण रहेको लेबनानी भूमिमा प्रवेश गर्ने तयारीमा छ । इजरायलको शृंखलाबद्ध हवाई आक्रमणबाट चार दिनभित्र लेबनानमा मृत्यु हुनेको संख्या कम्तीमा ५ सय ६९ पुगिसकेको छ ।

अहिले सुरक्षाका लागि लेबनानको दक्षिणी क्षेत्रबाट राजधानी बेरुत र सीमा काटेर सिरिया जाने लेबनानीहरूको संख्या बढिरहेको छ । शरणार्थीसम्बन्धी राष्ट्रसंघीय नियोग (यूएनएचसीआर) का अनुसार पछिल्लो युद्धबाट अहिलेसम्म ९० हजार विस्थापित भएका छन् । तीमध्ये ६ हजार ६ सय ९७ जना लेबनानी सिरिया पुगेका छन् । साथै १७ हजार सिरियाली शरणार्थीहरू सिरिया फर्केका छन् ।

नेपाली श्रमिक मञ्जु मोक्तानले बेरुतको सुरक्षा अवस्था हेरेर रोजगारदातासँगै ठाउँ सर्ने योजना रहेको बताइन् । ‘हामी बेरुतमै छौं । सुरक्षित छौं तर डर छ । बेरुतमा असुरक्षा बढेमा युद्ध नहुने पहाडको घरमा गएर बस्ने योजना छ,’ उनले भनिन्, ‘रोजगारदाताका छोरा–बुहारी भने पहाडको घरमा गइसकेका छन् ।’

नेपाली घरेलु श्रमिकहरूले तत्काल नेपाल फर्किहाल्ने योजना बनाइनसकेको बताए । ‘रोजगारदाताले केही हुँदैन नै भनिरहेका छन् । हामीलाई धेरै डर देखाइएको छैन । हामी युद्ध चर्केको ठाउँबाट त टाढै हो भन्छन् । केही भए त हामी पठाउँला भनिरहेका छन्,’ श्रमिक माया तामाङले भनिन्, ‘विमानस्थल पनि बन्द छ । नेपालबाट छिटो आऊ भनेर फोन गरिरहेका छन् । के गर्ने ? के नगर्ने कुरा बुझ्नै सकिरहेकी छैन ।’

तामाङले ‘लेबनानको माहोल (समाचार) हेर्दा आफ्नो ज्यान नै जिरिंग हुने गरेको बताइन् । उनले भनिन्, ‘समाचार हेर्दा डरका कारण मुटुले ठाउँ छोडिसक्यो । यो युद्ध पहाडतिर पनि हुन थाल्यो भने घरतिर नै फर्कनुपर्ला ।’ इजिप्टस्थित नेपाली दूतावासका अनुसार लेबनानमा करिब सात सय नेपाली कार्यरत छन् ।

लेबनानबाट सिरिया प्रवेश गरेकाहरूमा नेपाली रहे–नरहेको थाहा नभएको नेपाली श्रमिक चन्द्रा जोशीले बताइन् । ‘सिरियालीहरू आफ्नो देश गइरहेका छन् । तनाव बढे पनि नेपालीहरूले लेबनान छाडेको सूचना छैन,’ उनले भनिन्, ‘अहिले विद्यालय बन्द भइसकेका छन् । लुटपाटको डर बढेको छ ।

लेबनानको पहाडी क्षेत्रमा ११ वर्षदेखि घरेलु श्रमिक रहेकी सुन्दरी तामाङले आकाशमा रकेट आउँदा घरका झ्याल नै जोडले हल्लिने गरेको बताइन् । ‘म दुई पटक धेरै डराएँ । धेरैबेरसम्म मेरो मुटु काँपिरह्यो । यस्तो बेला घरका साहु–साहुनीको आडभरोसा निकै महत्त्वपूर्ण हुँदोरहेछ । मेरो जीवनमा यस्तो युद्ध कहिले भोगेको थिइनँ,’ उनले भनिन् ।

गत वर्ष अक्टोबर ७ मा दक्षिणी इजरायलमा हमासको आक्रमणपछि इजरायलमाथि हेजबुल्लाहले पनि आक्रमण सुरु गरेको थियो । त्यसपछि इजरायल र हेजबुल्लाहबीच लडाइँ भइरहेको छ । त्यसयता हेजबुल्लाहले उत्तरी इजरायल र इजरायली नियन्त्रणमा रहेको गोलान हाइट्समा आठ हजारभन्दा बढी रकेटहरू प्रहार गरिसकेको छ ।

इजरायली सेनाका प्रमुख हर्जी हेलेविलका अनुसार हवाई हमलाले हेजबुल्लाहको पूर्वाधारलाई ध्वस्त पार्ने र इजरायली सेना लेबनानी भूमिमा छिर्ने लक्ष्य राखेको छ । यसले थप तनाव बढ्ने सम्भावना छ ।

 

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ