काठमाडौँ — लोक सेवा आयोग चालु वर्षमा आवश्यक निजामती सेवा, सुरक्षा निकाय र संगठित संघसंस्थालाई आवश्यक जनशक्तिको पदपूर्तिको तयारीमा जुटेको छ । लोक सेवाले हरेक आर्थिक वर्षको पहिलो दिन सूचना प्रकाशित गरेर एक वर्षभर सञ्चालन गर्ने सम्बद्ध सबै निकायको परीक्षा सञ्चालनदेखि अन्तिम नतिजा प्रकाशनसम्मको प्रक्रिया पूरा गर्दै आएको छ । चालु वर्षको साउनदेखि सुरु हुने परीक्षा अर्को वर्षको असार अन्तिमसम्म हुने गरेको छ ।

आयोगले गत साउनदेखि सुरक्षा निकायतर्फको नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग र संगठित संघसंस्थाको पदपूर्ति प्रक्रिया सुरु भइसकेको छ । आयोगकी प्रवक्ता तथा सहसचिव गीताकुमारी होमेगाईंका अनुसार भदौ र असोजमा राजपत्रांकित प्रथम श्रेणी (सहसचिव), प्राविधिक एवं अप्राविधिक तथा राजपत्रांकित द्वितीय श्रेणी (उपसचिव), प्राविधिक र अप्राविधिकको सिट संख्या निर्धारणका लागि सम्बन्धित सेवा सञ्चालन गर्ने निकायबाट विवरण माग भइरहेको छ ।
विवरण प्राप्त भएपछि सेवा समूहपिच्छे पद संख्याको प्रतिशत निर्धारण गरिने जानकारी उनले दिइन् । प्रवक्ता होमेगाईंका अनुसार निजामती सेवाअन्तर्गत ऐनमा उल्लेख भएको १० वटा सेवा समूहबाट प्राप्त रिक्त पद संख्याका आधारमा उल्लिखित पदमा असोजको अन्तिम बुधबार पदपूर्तिसम्बन्धी सूचना प्रकाशित गरिन्छ ।
निजामती ऐनअनुसार आर्थिक योजना तथा तथ्यांक सेवा, इन्जिनियरिङ, कृषि, न्याय, परराष्ट्र, प्रशासन, लेखापरीक्षण, वन, शिक्षा र विविध सेवाअन्तर्गत आयोगले पदपूर्ति प्रक्रिया पूरा गर्नेछ । सम्बन्धित सेवाअन्तर्गत सिट संख्या तोकेर सूचना प्रकाशित गर्नुअघि आयोगले उम्मेदवारको योग्यता निर्धारण, पदअनुसारको पाठ्यक्रमको तयारी पूरा गर्नुपर्छ । अहिले सेवा सञ्चालन गर्ने निकायबाट सिट संख्या आउने क्रम सुरु भएको आयोगले जनाएको छ ।
कानुन, संसद् सेवा र मानवअधिकार आयोगबाहेकका सबैजसो मन्त्रालयले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत कर्मचारीको सिट संख्या लोक सेवा आयोगमा पठाउने गरिएको छ । त्यसैले संघीय मन्त्रालयले प्रत्येक भदौ र असोज महिनामा लोक सेवाको सूचनालाई आधार मानेर सिट संख्या संकलन गर्दै आएको छ । संघीय मन्त्रालयका सहसचिव तथा प्रवक्ता कालीप्रसाद पराजुलीले यस वर्षको सिट संख्या निर्धारणका लागि आन्तरिक रूपमा काम भइरहेको जानकारी दिए ।
कसरी यकिन गरिन्छ सिट संख्या ?
लोक सेवाले सरकारले उपलब्ध गराउने दरबन्दीअनुसारको सिट संख्याका विषयमा फरक मत राख्दैन । तर अघिल्ला वर्षहरूका आयोगले गरेको पदपूर्तिसम्बन्धी विज्ञापनअनुसार पदपूर्ति नभएको भए उक्त सिट पनि चालु वर्षमा समावेश गरिनेछ । उक्त सिट संख्याका बारेमा सम्बन्धित मन्त्रालयले आयोगसँग समन्वय गर्नेछ ।
आयोगले त्यस्तो सिट बाँकी भएमा जानकारी गराउनेछ । अन्य सिट संख्या निर्धारण भने आगामी आर्थिक वर्षको असार मसान्तसम्ममा निवृत्त हुने कर्मचारीको संख्या, निवृत्त भएर तत्कालै खाली भएको संख्या, राजीनामा दिएको वा कुनै कारणले जागिर छाडेको लगायतका कारणबाट दरबन्दीअनुसारको पद खाली भएको आधारमा सिट निर्धारण गरिनेछ । प्राप्त विवरणअनुसार सिफारिस समितिले गरेको निर्णयअनुसार संघीय मन्त्रालयका सचिवले अन्तिम हस्ताक्षर गरेर आयोगमा अन्तिम सूची पठाउनुपर्छ । लोक सेवाले दरबन्दी संरचना, पदपूर्ति र रिक्त दरबन्दी, अस्थायी, करार वा ज्यालादारी कर्मचारीको नियुक्ति ऐन नियमअनुसार भए/नभएको अनुगमन पनि गर्दै आएको छ ।
प्रतिशत निर्धारण कसरी ?
सम्बन्धित निकायबाट सिट संख्या प्राप्त भएपछि कुन समूहअन्तर्गत को–कोबीच प्रतिस्पर्धा गराउने त्यसको प्रतिशत निर्धारण आयोगले गर्दछ । निजामती सेवा ऐन २०४९ को संशोधित प्रावधानअनुसार कुल संख्याको ४५ प्रतिशत छुट्याएर त्यसलाई शतप्रतिशत मानेर समावेशी रूपमा छुट्टाछुट्टै प्रतिस्पर्धा गराइन्छ ।
खुला, कार्यसम्पादन, ज्येष्ठतालगायतका समूहबाट गरिने पदपूर्तिका लागि सम्बन्धित उम्मेदवारबीच मात्रै प्रतिस्पर्धा गराइनेछ । लिखित वा मौखिक परीक्षा नहुने कार्यसम्पादन र ज्येष्ठताका आधारमा हुने बढुवाको सूचना खुलासँगै प्रकाशित गरे पनि उनीहरूको बढुवा भने आयोगका अध्यक्षतामा रहेको बढुवा समितिले गर्नेछ ।
आयोगले ऐनमा व्यवस्था भएअनुसार महिला ३३ प्रतिशत, आदिवासी/जनजाति २७ प्रतिशत, मधेशी २२ प्रतिशत, दलित ९ प्रतिशत, अपांग ५ प्रतिशत र पिछडिएको क्षेत्र ४ प्रतिशत छुट्याएर प्रतिस्पर्धा गराउनेछ । ऐनमा पिछडिएको क्षेत्र अछाम, कालीकोट, जुम्ला, जाजरकोट, डोल्पा, बझाङ, बाजुरा, मुगु र हुम्ला जिल्लालाई तोकिएको छ । निजामती किताबखानाको रेकर्डअनुसार निजामती सेवामा २८ प्रतिशतभन्दा बढी महिलाले प्रतिनिधित्व गरेका छन् ।
लोक सेवाको प्रतिनिधित्व ९९ स्थानमा
पछिल्लो समय परीक्षा प्रणाली र नतिजा प्रकाशन विश्वासिलो बन्दै गएका कारण धेरैजसो क्षेत्रमा आयोगको प्रतिनिधित्व गराउन थालिएको छ । संविधानको धारा २४३ को उपधारा (५) मा पनि सरकारबाट निवृत्तिभरण पाउने कुनै पनि पदमा लोक सेवाको परामर्शबिना स्थायी नियुक्ति नगर्ने व्यवस्था गरिएको छ । निजामती सेवाबाहेक अहिलेसम्म सुरक्षा निकाय र संगठित संघसंस्थासहित ९९ वटा निकायको पदपूर्ति प्रक्रियामा लोक सेवाको प्रतिनिधित्व रहेको प्रवक्ता होमेगाईंले जानकारी दिइन् । उनले भनिन्, ‘हामीले विभिन्न निकायमा संलग्न रहेकाले बाह्रै महिना पदपूर्तिसम्बन्धी काम भइरहन्छ ।’
आयोगको कार्यालयहरू काठमाडौंको केन्द्रीय कार्यालयसहित पोखरा, बुटवल, सुर्खेत, इलाम, धनकुटा, दिपायल, जलेश्वर, खोटाङ, हेटौंडा, बागलुङ, दाङ, जुम्ला, महेन्द्रनगर तथा दरखास्त व्यवस्थापन केन्द्रसमेत मुलुकभर १६ वटा रहेका छन् । परीक्षार्थीको सुविधाका लागि हुम्ला, डोल्पा, लहान, वीरगन्जमा पनि नायब सुब्बा र खरिदारको लिखित परीक्षा सञ्चालन गर्ने व्यवस्था मिलाएको छ । सहसचिव र उपसचिवको परीक्षा भने काठमाडौंमा मात्र हुने गरेको छ ।
आयोगको यस वर्षको तालिका
आयोगले साउनदेखि सुरु गर्ने परीक्षाअन्तर्गत सुरक्षा निकाय तथा संगठित संघसंस्थाको आगामी असारसम्म पदअनुसार परीक्षा सञ्चालन र नतिजा प्रकाशित निरन्तर भइरहने तालिका सार्वजनिक भएको छ । निजामतीतर्फको राजपत्रांकित प्रथम श्रेणीको खुला, आन्तरिक प्रतिस्पर्धा तथा बढुवाको सिट संख्या र प्रतिशत निर्धारण भदौ र असोजमा गरेपछि पदपूर्ति विज्ञापन असोजको अन्तिम बुधबार प्रकाशित गरिनेछ ।
परीक्षा सञ्चालन मंसिरमा हुनेछ भने लिखित परीक्षाको नतिजा सार्वजनिक पुस/माघमा गरिँदै आएको छ । अन्तर्वार्ता र उम्मेदवारको नाम सिफारिस फागुन/चैतमा गरिनेछ । राजपत्रांकित द्वितीय श्रेणीको (प्राविधिक/अप्राविधिक) तथा अधिकृत द्वितीयको खुला, आन्तरिक प्रतिस्पर्धा तथा बढुवाको प्रतिशत निर्धाण असोजसम्ममा गरिन्छ । असोजको अन्तिम बुधबार पदपूर्तिसम्बन्धी सूचना प्रकाशित गरिनेछ भने परीक्षा सञ्चालन पुस र माघ गरिनेछ । लिखित परीक्षा सञ्चालन फागुन र चैतमा हुनेछ । अन्तर्वार्ता र नतिजा प्रकाशन वैशाखसम्ममा गर्ने तालिका प्रकाशित भएको छ ।
स्वास्थ्य सेवाको एघारौं र नवौं तहको खुला, आन्तरिक प्रतिस्पर्धा तथा बढुवाको प्रतिशत निर्धारण भदौ र असोजमा गर्ने वार्षिक तालिका प्रकाशित भएको छ । असोजको अन्तिम बुधबार पदपूर्तिसम्बन्धी सूचना प्रकाशित गर्ने र परीक्षा सञ्चालन माघसम्ममा हुनेछ । लिखित परीक्षा सञ्चालन चैतसम्म र अन्तर्वार्ता र नजिता प्रकाशन वैशाखसम्ममा हुनेछ । राजपत्रांकित तृतीय श्रोणी प्राविधिक पदको खुला, आन्तरिक र बढुवाको सिट संख्याको प्रतिशत असोज र कात्तिकमा निर्धारण गरिन्छ ।
पदपूर्तिको सूचना प्रकाशन कात्तिकको अन्तिम बुधबार गरिनेछ । परीक्षा सञ्चालन फागुनसम्ममा हुनेछ भने लिखित परीक्षाको नतिजा वैशाखसम्ममा सार्वजनिक गरिनेछ । अन्तर्वार्ताको नतिजा प्रकाशन तथा नाम सिफारिस असारसम्ममा हुनेछ । स्वास्थ्यको आठौं तहको पदमा खुला प्रतिस्पर्धा हुनेछ । आवश्यक सिट संख्याको प्रतिशत असोज र कात्तिकमा निर्धारण गरेर सुरु भएको परीक्षा विभिन्न समयमा सञ्चालन भएर अन्तर्वार्ता र सिफारिस जेठ/असार प्रकाशित गरिनेछ । स्वास्थ्यको सातौं तहको खुला, आन्तरिक प्रतिस्पर्धा तथा बढुवाको सिट संख्या र प्रतिशत निर्धारण कात्तिकसम्ममा गरेर सुरु गरिएको अन्तिम परीक्षाको नतिजा असारसम्ममा सार्वजनिक गरिनेछ ।
राजपत्रांकित तृतीय श्रेणी (अप्राविधिक तथा अधिकृत तृतीयको प्रथम र द्वितीय चरणको खुला, आन्तरिक प्रतिस्पर्धा र बढुवाको सिट संख्या तथा प्रतिशत निर्धारण मंसिरसम्ममा गरिसक्नुपर्नेछ । यसको विज्ञापन र सूचना प्रकाशन मंसिरको अन्तिम बुधबार गरिनेछ भने साउन र भदौमा अन्तर्वार्ता तथा उम्मेदवारको सिफारिस गर्ने तालिका आयोगले सार्वजनिक गरेको छ । राजपत्र अनंकित प्रथम श्रेणी (अप्राविधिक) तथा सहायक प्रथमः खुला प्रथम चरण, खुला द्वितीय चरण र बढुवाको सिट संख्या र प्रतिशत पुससम्ममा निर्धारण गरिनेछ । पदपूर्तिको सूचना प्रकाशन पुसभित्र गरेर सुरु गरिएको परीक्षा निरन्तर सञ्चालन गरेर सफल उम्मेदवारको सिफारिस असोजसम्ममा गरिनेछ ।

