सम्पादकीय जनजागरण,
काठमाण्डौ १६ भदाै / नेपालको भाषाविज्ञान र साहित्यको क्षेत्रमा महत्त्वपूर्ण योगदान गर्ने प्रा. डा. योगेन्द्र प्रसाद यादवलाई यस वर्ष मदन पुरस्कार गुठीले “जगदम्बा-श्री” पुरस्कारबाट सम्मानित गरेको छ। यो सम्मानले न केवल प्रा. डा. यादवको योगदानको कदर गरेको छ, तर सम्पूर्ण नेपाली भाषाविद् र साहित्यप्रेमीहरूलाई पनि गौरवान्वित बनाएको छ।

प्रा. डा. यादवको जन्म सिरहा जिल्लाको नहरनिया नवराजपुर गाउँपालिका-६ मा एक निम्नमध्यम वर्गीय किसान परिवारमा भएको थियो। बाल्यकालदेखि नै उनी अध्ययनप्रति अत्यन्त रुचि राख्थे। उनका बाल्य दिनहरू गाउँकै खेत-खलिहानमा गाईभैंसी चराउँदै बितेका थिए। कठिन आर्थिक अवस्थाका बावजुद पनि उनले त्रिभुवन विश्वविद्यालयमा अंग्रेजी साहित्यमा उच्च शिक्षा हासिल गर्न सफल भए।
त्रिभुवन विश्वविद्यालयमा अङ्ग्रेजी विषय पढाउने क्रममा उनले आफूलाई न केवल एक उत्कृष्ट शिक्षकका रूपमा स्थापित गरे, तर एक गहिरो लेखक र अनुसन्धानकर्ताका रूपमा पनि चिनाए। उनी विशेष गरी नेपालका भाषाहरूको पहिचान, संरक्षण, अध्ययन, र अनुसन्धानमा समर्पित छन्। उनका लेख, शोधपत्रहरू, र अनुसन्धानात्मक लेखहरू विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय पत्रिकामा प्रकाशित भएका छन्।
उनको गहन अध्ययन र अनुसन्धानको परिणामस्वरूप, प्रा. डा. यादव चाँडै नै प्राज्ञिक क्षेत्रमा एक प्रख्यात व्यक्तित्वका रूपमा स्थापित भए। उनका रचनाहरूमा सादगीपूर्ण जीवनशैली र उच्च विचारको प्रतिबिम्ब देखिन्छ। उनी नेपालका भाषाहरूको संरक्षण र प्रवर्द्धनका लागि अनवरत रूपमा प्रयासरत छन्।
मदन पुरस्कार गुठीले प्रदान गरेको जगदम्बा-श्री पुरस्कारले प्रा. डा. यादवको योगदानको सम्मान मात्र गरेको छैन, अपितु नेपालको भाषिक र सांस्कृतिक विविधताको संरक्षणमा उनको महत्वपूर्ण भूमिकाको पनि मान्यता दिएको छ। यो सम्मान सम्पूर्ण सिरहा जिल्लावासीका लागि गर्वको विषय बनेको छ।
*सादा जीवन, उच्च विचारका प्रतीक*
प्रा. डा. यादवले आफ्नो साधारण जीवनशैली र उच्च विचारको माध्यमबाट समाजमा विशेष स्थान बनाएका छन्। उनी आफ्ना विद्यार्थीहरू, सहकर्मीहरू, र प्रशंसकहरूका लागि प्रेरणाका स्रोत बनेका छन्। उनलाई प्रदान गरिएको यो पुरस्कारले सम्पूर्ण सिरहाली र नेपालको भाषाविज्ञान क्षेत्रलाई सम्मानित गरेको छ।
गोपाल सेवा समितिका पूर्व अध्यक्ष रामविनय यादव लगायत गोपाल सेवा समिति लहान परिवार र सम्पूर्ण सिरहाली समुदाय प्रा. डा. यादवको यस महत्त्वपूर्ण सफलतामा गर्व महसुस गर्दै उनलाई बधाई दिएका छन्।

