सप्तरी १६ भदाै / राजविराज–छिन्नमस्ता सडक दुई वर्षदेखि निर्माणाधीन अवस्थामा छ । सप्तरीको प्रसिद्ध पवित्र धार्मिकस्थल छिन्नमस्ता भगवती शक्तिपीठसम्म पुग्ने उक्त सडक गत असारमै निर्माण सम्पन्न भइसक्नुपर्ने थियो । तर हालसम्म सो सडकको २९ प्रतिशत मात्र काम सकिएको छ ।

ठाउँ ठाउँमा सडक भत्किएर पैदल हिँड्न समेत सकिने अवस्था छैन । जताततै खाल्डाखुल्डी मात्रै छन् । सडकमा पानी जमेर पोखरी बनेकोछ। मोटरसाइकल गुडाउन पनि समस्या भएको शक्तिपीठ दर्शन गर्न गएका बोदे बर्साइन नगरपालिका–३ का २८ वर्षीय धिरज यादवले बताए।
टेम्पो व्यवसायी सत्यनारायण चौधरी ठूलो सङ्ख्यामा आउने दर्शनार्थीलाई छिन्नमस्ता भगवती मन्दिर पुग्न कठिनाइ हुने गरेको बताउँछन् । उनले भने, ‘कुनै पनि बेला दुर्घटना हुनसक्ने खतरा छ, जोखिम मोलेर सवारीसाधन चलाउनुपर्ने अवस्था छ ।’
हाल सो सडकखण्डमा बस सेवा बन्द छ । अटोरिक्सा मात्र चल्ने भएकाले उनीहरुले यात्रुबाट मनपरी भाडा लिने गरेको ललापटीका रामप्रित यादवले बताए । बाटो बिग्रिएका कारण १० किलोमिटर यात्रा तय गर्न एक घण्टाभन्दा बढी समय लाग्ने गरेको उनको भनाइ छ ।
सडक मर्मतको माग गर्दै छिन्नमस्ता गाउँपालिकाका अध्यक्ष विद्यानन्द चौधरीसहितको टोलीले लहानस्थित सडक डिभिजन कार्यालयमा धर्ना समेत दिएको थियो । सडककै कारण पछिल्लो समय छिन्नमस्ता शक्तिपीठ आउने भक्तजनको सङ्ख्यामा कमी आएको उनको भनाइ छ ।
स्थानीयले अविलम्ब उक्त सडक स्तरोन्नतिको माग गरेका छन् । राजविराज–छिन्नमस्ता–नेउर बोर्डर सडकखण्ड निर्माण कार्यको शिलान्यास २०७८ चैतमा गरिएको थियो ।
उक्त सडक निर्माणका लागि सडक डिभिजन कार्यालय लहानले २५ करोड ८८ लाखमा साह इन्जिनियरिङ प्रालि शम्भुनाथ सप्तरीलाई ठेक्का दिएको हो ।
सडक निर्माण गर्न २०७९ असारमा निमार्ण कम्पनी र सडक डिभिजन कार्यालयबीच सम्झौता भएको थियो । सम्झौताअनुसार निर्माण कार्य गत असारमा सक्नुपर्ने थियो ।
उक्त सडक अब २०८२ असारसम्ममा निर्माण गरिसक्नुपर्ने सडक डिभिजन कार्यालय लहानका सूचना अधिकारी अश्विनी यादवले जानकारी दिए ।

