काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको अन्तराष्ट्रिय सम्बन्ध र पर्यटन समितिले नेपालको हवाई सुरक्षाको मापदण्ड कार्यान्वयन भए नभएको छानविन गरि नितिगत सुधार गर्न सरकारलाई निर्देशन दिएको छ ।
बैठकले यसअघि भएका हवाई दुर्घटनापछि गठन भएका जाँचबुझ आयोगका प्रतिवेदनको अवस्थाको विवरण पेश गर्न पनि मन्त्रालयलाई निर्देशन दिएको छ ।
त्यस्तै बैठकले नेपालको हवाई उडान सुरक्षा सम्बन्धी छुट्टै नीति आवश्यक देखिएकाले उक्त नीति तर्जुमान गर्न सरकारलाई निर्देशन दिएको सभापति यादवले बताए ।
बैठकमा पर्यटन, संस्कृति तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले नेपालको हवाई सुरक्षा अभिवृद्धिका लागि सरकार गम्भीर रहेको बताउनुभयो । हवाई सुरक्षा मापदण्डमा तलमाथि गर्नेलाई आवश्यक अध्ययन गरि कारवाही गर्ने उनले बताए । त्यस्तै उनले उडान सुरक्षा सम्बन्धी ऐन निर्माणका साथै विधेयकहरुलाई पनि छिटै अघि बढाउने जिकिर गरे ।
मन्त्री पाण्डेले समग्र उड्डयन क्षेत्रका समस्या समाधान गर्न कार्ययोजना निर्माणको तयारी गरिरहेको जानकारी दिनुभयो । हवाई सुरक्षाका लागि अल्पकालीन, मध्यकालीन र दीर्घकालीन सुधारका उपाय खोजिने उनले बताए ।

