सत्यनारायण यादवसहित सैकडौं नेता जसपा नेपालमा प्रवेश, उपेन्द्र यादवद्वारा संविधान पुनर्लेखनको माग

जनजागरण संवादाता / रामशंकर यादव

लहान २० असोज —जनता समाजवादी पार्टी नेपाल (जसपा) का अध्यक्ष उपेन्द्र यादवले हालको संविधानले जनताका माग सम्बोधन गर्न नसकेको उल्लेख गर्दै संविधान पुनर्लेखन वा गहिरो संशोधनको आवश्यकता रहेको बताएका छन्। सोमबार सिराहाको लहानमा आयोजित शुभकामना आदानप्रदान तथा बृहत पार्टी प्रवेश कार्यक्रममा बोल्दै अध्यक्ष यादवले जेन–जी पुस्ताले उठाएका मागहरू सम्बोधन नगरी मुलुकमा स्थायित्व, समावेशिता र समृद्धि सम्भव नहुने जिकिर गरे।

कार्यक्रममा नेकपा एकीकृत समाजवादी पार्टी (कलम छाप) का केन्द्रीय सदस्य सत्यनारायण यादवको नेतृत्वमा सैकडौं नेता–कार्यकर्ता जसपा नेपालमा प्रवेश गरेका छन्। त्यस्तै, माओवादी नेता खडकनारायण चौधरीले पनि आफ्नो पार्टी परित्याग गरी जसपामा प्रवेश गरेका छन्।

विद्रोहपछि अन्तरिम सरकार बने पनि उपलब्धि हासिल भएन”

अध्यक्ष यादवले जेन–जी पुस्ताले थालेको आन्दोलनले मुलुकको विद्यमान संरचनामाथि गम्भीर प्रश्न उठाएको उल्लेख गर्दै भने, “जनसंख्याको आधारमा प्रतिनिधित्व, पूर्ण समानुपातिक निर्वाचन प्रणाली, प्रत्यक्ष कार्यकारी राष्ट्रपतीय शासन, पहिचानको आधारमा प्रदेश पुनर्संरचना र न्याय प्रणालीको सुधारबिना यो विद्रोहको माग सम्बोधन हुँदैन।”

उनले २०६२/६३ को जनआन्दोलनपछि बनेको संविधानले सबै समुदाय र पुस्ताको प्रतिनिधित्व नगरेको आरोप लगाए। “सम्पूर्ण विश्वलाई चकित पार्ने विद्रोहपछि पनि उपलब्धि प्राप्त भएन,” यादवको टिप्पणी थियो।

कांग्रेस–कम्युनिस्ट गठबन्धनमाथि कडा आलोचना

बहुदलीय व्यवस्था पुनर्स्थापना पश्चात लामो समय सत्ता सम्हालेका कांग्रेस र कम्युनिस्टहरूले नै देशलाई आर्थिक, सामाजिक र राजनीतिक संकटमा धकेलेको आरोप उनले लगाए। वैदेशिक ऋणको बोझ, युवाको विदेश पलायन, किसानको दु:ख, शिक्षा र स्वास्थ्य सेवामा पहुँच नपाउने अवस्था सिर्जनामा ती दलहरूको भूमिका रहेको उनको दाबी थियो।

जेन–जी आन्दोलन र दमन

जेन–जी पुस्ताले सामाजिक सञ्जालमाथिको प्रतिबन्ध फुकुवा, भ्रष्टाचार अन्त्य, सुशासन र अवसरको मागसहित थालेको शान्तिपूर्ण आन्दोलनमा सरकारले बर्बर दमन गरेको भन्दै यादवले त्यसकै परिणामस्वरूप दुई दिनमै कांग्रेस–कम्युनिस्ट गठबन्धन सरकार पतन भएको बताए।

कार्यक्रममा सहभागी नेताहरूले जसपा नेपालको घोषणापत्र, दृष्टिकोण र नेतृत्वप्रति विश्वास व्यक्त गर्दै मुलुकमा न्यायपूर्ण, समावेशी र समाजवादी व्यवस्था निर्माणमा सक्रिय भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरेका थिए।

 

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ