वासिङ्टन । अमेरिकी नागरिकहरूले यस वर्षको नोभेम्बरमा आफ्नो नयाँ राष्ट्रपति चयन गर्न मतदान गर्नेछन्। यो चुनावलाई सारा विश्वले हेर्नेछ ।राष्ट्रपतिसँगै अमेरिकी नागरिकहरूले कुनै विधेयक वा कानुन पारित गर्न महत्त्वपूर्ण भूमिका खेल्ने कांग्रेसका नयाँ सदस्यहरू चयन गर्न पनि मतदान गर्नेछन्। यी कानुनहरूले अमेरिकी नागरिकहरूको जीवनमा गहिरो प्रभाव पार्न सक्छ ।

- अर्को राष्ट्रपतिको निर्वाचन कहिले हुन्छ ?
अमेरिकी राष्ट्रपतिको निर्वाचन नोभेम्बर ५, २०२४ मंगलबारका दिन हुनेछ। चुनाव जित्ने उम्मेदवारले आगामी चार वर्ष ह्वाइट हाउसमा सेवा गर्नेछन् । यो कार्यकाल जनवरी २०२५ देखि सुरु हुनेछ।
अमेरिकी राष्ट्रपतिलाई आफैँले केही कानुन पारित गर्ने अधिकार छ । तर अधिकांश कानुन संसद्को सहयोगमा पारित गर्नुपर्ने हुन्छ।
अमेरिकी राष्ट्रपतिलाई विश्वव्यापी मञ्चमा आफ्नो देशको प्रतिनिधित्व गर्ने र विदेश नीति तय गर्ने धेरै स्वतन्त्रता छ।
- यो चुनावमा उम्मेदवार को–को छन् र कसरी छानिएका छन् ?
अमेरिकाका दुई प्रमुख राजनीतिक दलले आफ्ना उम्मेदवार मनोनयन गरेका छन् । यसका लागि यी दलहरूले राज्य प्राइमरी र ककसहरू आयोजना गर्छन्, जसमा जनताले आम चुनावमा आफ्नो पार्टीको नेतृत्व गर्ने नेताहरू छान्छन्।
रिपब्लिकन पार्टीमा पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना प्रतिद्वन्द्वीमाथि ठुलो अग्रता लिएर आफ्नो पार्टीको समर्थन जितेका छन् । मिलवाउकी, विस्कन्सिनमा सम्पन्न पार्टी अधिवेशनमा उनी रिपब्लिकन पार्टीको आधिकारिक राष्ट्रपति पदका उम्मेदवार बनेका थिए।
राष्ट्रपति जो बाइडेनले राजीनामा दिएपछि उपराष्ट्रपति कमला ह्यारिस डेमोक्रेटिक पार्टीको तर्फबाट राष्ट्रपति पदका लागि प्रतिस्पर्धा गर्दैछिन् । बाइडेन बाहिरिएपछि, अरू कुनै डेमोक्र्याटले कमला ह्यारिसको उम्मेदवारीलाई चुनौती दिएनन्।
यी बाहेक केही स्वतन्त्र उम्मेदवार पनि राष्ट्रपतिको उम्मेदवार बन्ने दौडमा थिए । यीमध्ये सबैभन्दा प्रमुख पूर्व राष्ट्रपति जोन एफ केनेडीका भतिजा रोबर्ट एफ केनेडी जूनियर थिए। तर अगस्टको अन्त्यमा, उनले आफ्नो चुनावी अभियान अन्त्य गरे र डोनाल्ड ट्रम्पलाई समर्थन गरे।
- डेमोक्र्याट र रिपब्लिकन पार्टीको अडान के छ?
डेमोक्रेटिक पार्टी अफ अमेरिका एक उदार राजनीतिक पार्टी हो, जसको एजेन्डा मुख्यतया नागरिक अधिकार, सामाजिक सुरक्षा र जलवायु परिवर्तनका मुद्दाहरूलाई अगाडि बढाउने र त्यसका लागि उपायहरू सुनिश्चित गर्ने हो।
रिपब्लिकन पार्टी अमेरिकाको कन्जरभेटिभ पार्टी हो। यसलाई जीओपी वा ग्रान्ड ओल्ड पार्टी पनि भनिन्छ। यो पार्टी कर घटाउने, सरकारको आकार घटाउने, बन्दुक राख्ने अधिकार दिने र अध्यागमनको विरोध गर्ने र गर्भपतनमा कडा प्रतिबन्ध लगाउने पक्षमा छ ।
- अमेरिकामा राष्ट्रपतीय निर्वाचनको काम के हुन्छ?
अमेरिकी राष्ट्रपतिको चुनावमा, सम्पूर्ण देशमा सबैभन्दा बढी मत प्राप्त गर्ने उम्मेदवार विजयी हुँदैन।
यसको सट्टा, दुवै दलका उम्मेदवारहरूले सबै ५० राज्यहरूमा चुनाव जित्न प्रतिस्पर्धा गर्नुपर्छ। प्रत्येक राज्यमा इलेक्टोरल कलेजहरूको निश्चित सङ्ख्या छ, आंशिक रूपमा जनसङ्ख्यामा आधारित। यस्ता ५३८ इलेक्टोरल कलेज छन् । जसमध्ये २७० वा सोभन्दा बढी जित्ने उम्मेदवार विजेता हुन्छ ।
दुई बाहेक सबै राज्यमा, सबैभन्दा धेरै मत प्राप्त गर्ने उम्मेदवारलाई सबै इलेक्टोरल कलेज भोट दिइन्छ । धेरैजसो राज्यहरू कुनै न कुनै पार्टीतर्फ झुकेका छन् । त्यसकारण, उम्मेदवारहरूले आफ्नो ध्यान लगभग एक दर्जन राज्यहरूमा केन्द्रित गर्छन् जहाँ उनीहरूले जित्ने सम्भावना छ। यिनलाई ब्याटलग्राउन्ड वा स्विङ स्टेट भनिन्छ।
राष्ट्रिय स्तरमा, उम्मेदवारले अधिकतम मत प्राप्त गर्न सक्छ। जस्तै हिलारी क्लिन्टनले २०१६ मा राष्ट्रिय स्तरमा सबैभन्दा बढी मत प्राप्त गरेकी थिइन् । तर उनी इलेक्टोरल कलेजको चुनावमा हारेकी थिइन् ।
- अमेरिकी राष्ट्रपति चुनावमा कसले भोट दिन सक्छ?
१८ वर्षभन्दा माथिका सबै नागरिकले राष्ट्रपतिको निर्वाचनमा मतदान गर्न पाउनेछन् । नर्थ डकोटा बाहेक सबै राज्यहरूमा, मतदाताहरूले मतदान गर्नु अघि दर्ता गर्नुपर्छ। प्रत्येक राज्यको आफ्नै प्रक्रिया र मतदाता दर्ताको समयसीमा हुन्छ।
विदेशमा बस्ने अमेरिकी नागरिकहरूले पनि मतदान गर्न दर्ता गर्न सक्छन्। तिनीहरूले फेडरल पोष्ट कार्ड आवेदन भरेर हुलाक मतपत्रको लागि माग गर्न सक्छन्।
- राष्ट्रपतिको निर्वाचनबाहेक अरू कसको निर्वाचन हुन्छ ?
अहिले विश्वभरका मानिसहरूको ध्यान अमेरिकाको राष्ट्रपतिमा को निर्वाचित हुनेमा छ । तर राष्ट्रपतिबाहेक अमेरिकी मतदाताले अमेरिकी कंग्रेसका सदस्यहरू पनि चयन गर्नेछन्। यो कंग्रेस अर्थात् संसदमा कानुन पारित हुन्छ ।

अमेरिकी संसदमा दुई सदन छन्-
* प्रतिनिधि सभा। यसका सबै ४३५ सिटका लागि चुनाव हुँदैछ।
* सिनेट, जसको लागि ३४ सिटका लागि चुनाव हुँदैछ।
अहिले प्रतिनिधि सभामा रिपब्लिकन पार्टीको बहुमत छ । यहीँ अमेरिकामा व्यय योजनाहरू अनुमोदन हुन्छ । जबकि सिनेटमा डेमोक्र्याटको नियन्त्रण छ । सिनेटमा महत्त्वपूर्ण सरकारी नियुक्तिहरूमा मतदान हुन्छ।
- कसले जित्यो भनेर कहिले थाहा हुन्छ?
सामान्यतया भोटिङको रातमा नै विजेता घोषणा गरिन्छ । तर सन् २०२० मा भोट गणना गर्न केही दिन लागेको थियो ।
नयाँ राष्ट्रपति निर्वाचित भएमा निर्वाचनपछिको केही अवधिलाई सङ्क्रमणकाल भनिन्छ।
यस अवधिमा नयाँ प्रशासनलाई क्याबिनेट मन्त्री नियुक्त गर्न र नयाँ कार्यकालको योजना बनाउन समय दिइन्छ।
राष्ट्रपतिलाई जनवरी महिनामा शपथ ग्रहण गराइन्छ । यसलाई ‘इनागोरेसन’ भनिन्छ। यो वासिङ्टन डीसीको क्यापिटल बिल्डिङमा आयोजना गरिन्छ ।
बीबीसी

