जनजागरण संवादाता / रामशंकर यादव
सिरहा ६ पौष / लक्ष्मीपुर पतारी गाउँपालिकामा जेन–जि लक्ष्मीपुर पतारी गाउँपालिका समितिका अध्यक्ष चन्द्रशेखर यादवको नेतृत्वमा जेन–जिका सबै वडाका पदाधिकारीहरूले गाउँपालिका अध्यक्ष चतुरानन्द ठाकुरसँग कार्यालयमै भेटघाट गरेका छन्।
भेटघाटका क्रममा यसअघि जेन–जिद्वारा बुझाइएको ज्ञापनपत्रमाथि हालसम्म भएको कामकारबाहीबारे विस्तृत रूपमा छलफल गरिएको थियो। जेन–जि अध्यक्ष यादवले ज्ञापनपत्रमा उल्लेखित विषयहरू कार्यान्वयनमा ढिलाइ भइरहेकोप्रति ध्यानाकर्षण गराउँदै गाउँपालिका अध्यक्षसमक्ष स्पष्ट जवाफ माग गरेका थिए।

उक्त भेटमा गाउँपालिकाअन्तर्गतका सबै वडामा कार्यरत कर्मचारीहरूको तलब निकासा समयमै हुन नसकेको विषय प्रमुख रूपमा उठाइएको थियो। साथै श्री जनता डोमि चौधरी माध्यमिक प्राविधिक विद्यालय, पोखरभिन्ड्डा पर्साका शिक्षकहरूको तलब निकासा तत्काल गर्नुपर्ने माग गरिएको थियो।
त्यस्तै श्री जनता माध्यमिक विद्यालय, पिप्रामा देखिएको दोहोरो प्रधानाध्यापक (प्र.अ.) समस्या समाधान गर्न, पथलगडा आधारभूत विद्यालय समस्या समाधान गर्न पनि अध्यक्ष यादवले जोडदार रूपमा कुरा उठाएका थिए।
यसका अतिरिक्त जेन–जि अध्यक्ष यादवले कृषि विद्युतीकरणको काम प्रभावकारी रूपमा अघि नबढेको, गाउँपालिकाभित्र देखिएका स्वास्थ्यसम्बन्धी समस्याहरूको दीर्घकालीन समाधान आवश्यक रहेको विषयमा समेत प्रश्न उठाएका थिए। विभिन्न कार्यक्रमका नाममा कर्मचारीको नाममा निकासा गरिएको बजेट तथा रकम सार्वजनिक गर्नुपर्ने माग गर्दै उनले पारदर्शिताको अभावले जनतामा आशंका पैदा भएको बताए।
त्यसैगरी हालै भएका आगलागीबाट प्रभावित पीडितहरूलाई शीघ्र राहत उपलब्ध गराउनुपर्ने, तथा चालु आर्थिक वर्षमा सञ्चालन हुने आर्थिक विकाससम्बन्धी सबै योजनामा पूर्ण पारदर्शिता कायम गर्नुपर्ने विषय पनि जेन–जिको तर्फबाट उठाइएको थियो।
जवाफमा गाउँपालिका अध्यक्ष चतुरानन्द ठाकुरले उठाइएका सबै सवालहरू गम्भीरतापूर्वक अध्ययन गरी क्रमशः समाधानतर्फ अघि बढाइने आश्वासन दिएका छन्। उनले कर्मचारी तथा शिक्षकहरूको तलब निकासालाई प्राथमिकतामा राखिने, शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रका समस्या समाधानका लागि सम्बन्धित निकायसँग समन्वय गरिने तथा विकास निर्माणका काममा पारदर्शिता कायम गरिने प्रतिबद्धता व्यक्त गरे।
भेटघाटपछि जेन–जि पदाधिकारीहरूले जनसरोकारका विषयमा गाउँपालिकाले जिम्मेवार र जवाफदेही भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिँदै उठाइएका मागहरू छिटो सम्बोधन हुने अपेक्षा व्यक्त गरेका छन्।

