जेन–जि लक्ष्मीपुर पतारी गाउँपालिका समितिको विस्तारित बैठक सम्पन्न

जनजागरण संवादाता/ रामशंकर यादव

सिरहा ६ पौष  / शनिबार जेन–जि लक्ष्मीपुर पतारी गाउँपालिका समितिको विस्तारित बैठक वडा नं. २ स्थित श्री जनता डोमी चौधरी माध्यमिक प्राविधिक विद्यालय, पोखरभिन्डा पर्सा मा सम्पन्न भएको छ। बैठक जेन–जि लक्ष्मीपुर पतारी गाउँपालिका समितिका अध्यक्ष चन्द्रशेखर यादवको अध्यक्षतामा सम्पन्न भएको हो।
उक्त बैठकमा गाउँपालिकाभित्रका सम्पूर्ण वडाका पदाधिकारी तथा सदस्यहरूको उल्लेख्य उपस्थिति रहेको थियो। बैठकको उद्देश्य गाउँपालिका भित्र रहेका समस्या पहिचान गर्नुका साथै त्यसको दीर्घकालीन समाधानका लागि सामूहिक धारणा निर्माण गर्नु रहेको थियो।

बैठकमा सबै वडाका पदाधिकारीहरूले आ–आफ्ना वडामा रहेका समस्या, आवश्यकता तथा चुनौतीहरू क्रमशः प्रस्तुत गरेका थिए। वडास्तरबाट उठाइएका प्रमुख विषयहरूमा युवाहरूको सहभागिता अभाव, रोजगारीका अवसरको कमी, शिक्षा र सीप विकाससम्बन्धी समस्या, आधारभूत पूर्वाधार तथा सामाजिक सचेतनासँग जोडिएका विषयहरू रहेका थिए।

प्रस्तुत गरिएका समस्यामाथि अध्यक्ष चन्द्रशेखर यादवले सबै प्रश्नहरूको क्रमिक रूपमा उत्तर दिँदै समाधानमुखी धारणा प्रस्तुत गरेका थिए। उनले समस्याको समाधानका लागि युवाहरूबीच एकता, सहकार्य र सक्रिय सहभागिता अनिवार्य रहेको स्पष्ट पारे।
आफ्नो वक्तव्यमा अध्यक्ष यादवले भने,

“पालिका भरीका युवाहरू एकढिक्का भएर अगाडि बढेमा सबै समस्या समाधान गर्न सकिन्छ। युवाको एकता र सकारात्मक सोचले मात्र समाज र पालिकाको समग्र विकास सम्भव हुन्छ।”

बैठकमा स्थानीय तहसँग सम्बन्धित विभिन्न समसामयिक राजनीतिक, सामाजिक तथा विकासका मुद्दाहरूमा विस्तृत छलफल तथा अन्तर्क्रिया गरिएको थियो। छलफलका क्रममा सहभागीहरूले जेन–जि संगठनलाई अझ प्रभावकारी बनाउँदै स्थानीय समस्या समाधानमा युवाको भूमिका बलियो बनाउने सुझाव दिएका थिए।

समग्रमा, बैठकले स्थानीय स्तरका समस्या पहिचान, समाधानका उपाय खोज्ने तथा युवालाई संगठित गर्दै विकासको साझा लक्ष्यतर्फ अघि बढ्ने निष्कर्ष निकालेको छ। सहभागीहरूले एकता, सहकार्य र निरन्तर संवादमार्फत लक्ष्मीपुर पतारी गाउँपालिकाको समग्र विकासमा योगदान पुर्‍याउने प्रतिबद्धता व्यक्त गरेका छन्।

अन्ततः जेन–जि लक्ष्मीपुर पतारी गाउँपालिका समितिको यो विस्तारित बैठक भव्य, शान्त र सफल रूपमा सम्पन्न भएको आयोजकले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ