युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताको पहलमा लहान अस्पताललाई १ करोड ३५ लाख कर छुट

जनजागरण संवादाता/ रामशंकर यादव

काठमाडौँ २९ मंसिर  / नेपाल सरकारको आज बसेको मन्त्रिपरिषद् बैठकले सिराहा जिल्ला लहान नगरपालिका–३ मा अवस्थित रामकुमार शारदा उमाप्रसाद मुरारका प्रादेशिक अस्पतालको नाममा जग्गा तथा भवन हस्तान्तरण गर्दा लाग्ने करिब १ करोड ३५ लाख रुपैयाँ बराबरको लाभकर छुट दिने महत्वपूर्ण निर्णय गरेको छ।

मन्त्रिपरिषद्को निर्णयअनुसार अस्पताल परिसरभित्र रहेको १–१५–१० विघा क्षेत्रफलको जग्गा तथा भवन अस्पतालकै नाममा हस्तान्तरण गरिनेछ। यस क्रममा लाग्ने लाभकर पूर्ण रूपमा छुट दिने निर्णय भएपछि लहान क्षेत्रका सर्वसाधारणमा खुशीको माहोल छ।

यस ऐतिहासिक निर्णयमा युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताको विशेष पहल र योगदान उल्लेखनीय रहेको जनाइएको छ। मन्त्री गुप्ताले लहान क्षेत्रको स्वास्थ्य सेवा मजबुत बनाउने उद्देश्यले निरन्तर रूपमा सरकारसमक्ष पहल गर्दै आएको बताइएको छ। उहाँकै सक्रिय भूमिकाका कारण अस्पतालको दीर्घकालीन हितमा यो महत्वपूर्ण निर्णय सम्भव भएको जेन जि लक्ष्मीपुर पतारी गाउँपालिका समिति अध्यक्ष चन्द्रशेखर यादव काे भनाई छ।

लहानबासीहरूले यस निर्णयलाई स्वास्थ्य क्षेत्रका लागि ऐतिहासिक जितको रूपमा लिँदै सबैको साथ, सहयोग र समन्वयबाट सम्भव भएको उपलब्धि बताएका छन्। विशेषगरी युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले पुर्‍याएको योगदान कदापि बिर्सन नसकिने भन्दै उहाँलाई हार्दिक बधाई तथा धन्यवाद व्यक्त गरिएको छ।

यस निर्णयपछि रामकुमार शारदा उमाप्रसाद मुरारका प्रादेशिक अस्पतालको सेवा विस्तार, पूर्वाधार विकास तथा स्वास्थ्य सेवा थप प्रभावकारी हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ