लक्ष्मीपुर पतारीमा निष्पक्ष सेवा र समन्वयका लागि प्रहरी प्रमुखसँग जेन–जि अध्यक्ष चन्द्रशेखर यादवको नेतृत्वमा भेटघाट

जनजागरण संवादाता/ रामशंकर यादव

सिरहा २४ मंसिर  / लक्ष्मीपुर पतारी गाउँपालिका जेन–जि समिति अध्यक्ष चन्द्रशेखर यादवको नेतृत्वमा सबै वडाका अध्यक्ष तथा प्रतिनिधिहरूले इलाका प्रहरी कार्यालय महेशपुर पतारीका प्रमुख विशाल मल्लसँग औपचारिक भेटघाट गरेका छन्। भेटका क्रममा उनीहरूले प्रहरी सेवालाई अझ पारदर्शी, सहज र जनमैत्री बनाउन विशेष आग्रह राखेका थिए।

प्रतिनिधिमण्डलले गाउँपालिकाभित्र पर्ने सबै बस्तीहरूमा निष्पक्ष रूपमा सुरक्षासम्बन्धी काम–कारबाही संचालन गर्न, सेवा ग्राहीलाई छिटो–छरितो सेवा उपलब्ध गराउन तथा स्थानीयस्तरमा बढ्दो असहजताबारे ध्यानाकर्षण गराएका छन्।

उक्त अवसरमा प्रहरी प्रमुख विशाल मल्लले समुदायप्रति जिम्मेवारीपूर्वक सेवा पुर्‍याउने प्रतिबद्धता व्यक्त गर्दै, “हामी सबै प्रकारबाट सेवा ग्राहीलाई सहज हुनेगरी काम गर्छौँ,” भन्दै नीतिगत र व्यवहारिक दुवै रूपमा सहयोगका ढोका खुला रहने बताए।

समाजमा पछिल्ला दिनमा बढ्दै गएको घरेलु हिंसा, लागू औषध दुर्व्यसन, चोरी–डकैती तथा आत्महत्याजस्ता संवेदनशील घटनाबारे मल्लले गम्भीर चासो व्यक्त गरे। यस्ता घटनाको न्यूनीकरणका लागि प्रहरी–समुदाय समन्वयलाई अझ मजबुत बनाउन आवश्यक कदम तत्कालै अघि सारिने उनले स्पष्ट पारे।

जेन–जि समितिको पहलमा भएको यो भेटघाटले स्थानीय सुरक्षा व्यवस्थापन तथा समुदाय–प्रहरी सम्बन्ध सुदृढ हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ