जनजागरण संवादाता / रामशंकर यादव
सिरहा १७ मंसिर / मधेश प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गत आ.व. २०८२/०८३ मा स्वीकृत कजरा–कदमाहा–खरुकियाही–धनछबार–पतारी प्रादेशिक सडक खण्डको निर्माण कार्य सम्बन्धित निकायको उदासीनताका कारण प्रभावित बनेको छ। निर्माण अघि बढाउन पूर्वाधार विकास कार्यालय, सिरहाले पटक–पटक नापी कार्यालय लहान तथा सिरहालाई सडकका कित्ता नम्बर उपलब्ध गराई सडक खाली गराउने विषयमा पत्राचार गरे पनि प्रभावकारी पहल नहुँदा काम अघि बढ्न नसकेको कार्यालयले जनाएको छ।
मन्त्रालयबाट आएको पत्रअनुसार आवश्यक समन्वयमा ढिलासुस्ती हुँदा सडक निर्माण समयमै सम्पन्न नहुन सक्ने तथा विनियोजित बजेट फिर्ता जाने जोखिम थपिएको छ। यसले प्रदेशका दीर्घकालीन भौतिक पूर्वाधार योजनामा प्रतिकूल असर पर्ने चेतावनी स्थानीय विज्ञहरूले दिएका छन्।
स्थानीय बुद्धिजीवीहरूको भनाइमा समयमै सरकारी संयन्त्रले जिम्मेवारीपूर्वक ध्यान नदिए र आम सर्वसाधारणले पनि आवश्यक सहयोग नगरे सडक निर्माण अघि बढाउन निकै कठिनाइ हुने स्पष्ट देखिएको छ। उनीहरूले विकासका आधारभूत परियोजनामा यस्तो लापरवाही अस्वीकार्य भएको बताए।
यसैबीच, जेन–जि लक्ष्मीपुर पतारी गाउँपालिका समितिका अध्यक्ष चन्द्रशेखर यादवले पूर्वाधार विकास कार्यालय सिरहाले दिएको एक हप्ते समयसीमाभित्र लक्ष्मीपुर पतारी गाउँपालिका र नापी कार्यालय लहान–सिरहाले आवश्यक कदम नचाले समिति कडा प्रतिकार/आन्दोलनमा उत्रिने चेतावनी दिएका छन्। जनताको सुविधासँग प्रत्यक्ष जोडिएका विकासात्मक विषयमा जेन–जि समितिको निरन्तर प्रतिबद्धता रहेको पनि उनले बताएका छन्।
सडक निर्माणको ढिलाइका कारण स्थानीय जनजीवन, यातायात, व्यापार–व्यवसाय र अत्यावश्यक सेवामा असर पर्ने भएकाले सबै सम्बन्धित निकायले तत्काल व्यवहारिक पहल गर्नुपर्ने माग तीव्र रूपमा उठिरहेको छ।

