सिमरा घटनापछि देशभर तनाव: Gen-Z आन्दोलनले एमाले नेतृत्वलाई हिंसात्मक गतिविधि रोक्न चेतावनी”

जनजागरण संवादाता /  रामशंकर यादव

जनकपुरधाम ५ मंसिर / मधेश प्रदेशको बारा जिल्ला, सिमरा बजारमा मंसिर ३ गते भएको झडपपछि पुनः देशभर राजनीतिक वातावरण तातिएको छ। Gen-Z युवाहरूले आयोजना गरेको पूर्वनिश्चित कार्यक्रम स्थलमै नेकपा (एमाले) कार्यकर्ताले अर्को कार्यक्रम राखेपछि दुई पक्षबीच विवाद बढ्दै गएर कुटपिटसम्म पुगेको उनीहरूको आरोप छ।

Gen-Z समूहका अनुसार, उनीहरूलाई एमाले कार्यकर्ताले लक्षित रूपमा आक्रमण गरेपछि सिमरा क्षेत्र तत्क्षण तनावग्रस्त बन्दै गयाे । घटनापछि स्थानीय तहदेखि प्रदेशसम्म सुरक्षा चुनौती बढेको भन्दै प्रशासन सतर्क अवस्थामा छ।

युवाहरूको आन्दोलनका अगुवा तथा सिरहा लक्ष्मीपुर पतारी गाउँपालिका समिति अध्यक्ष चन्द्रशेखर यादवले एमाले नेतृत्वमाथि कडा आरोप लगाउँदै भने,
“एमालेले छिटो भन्दा छिटो यस्ता हिंसात्मक गतिविधि रोकेन भने देश अझै अशान्त बन्दै जानेछ र पार्टीले ठूलो मूल्य चुकाउनुपर्नेछ।”

यादवसहित Gen-Z युवाहरूको दाबी अनुसार, देश लामो समयदेखि कुशासन, भ्रष्टाचार र दण्डहीनताले ग्रस्त रहँदै आएको छ, जसको प्रमुख जिम्मेवारमा उनीहरूले एमाले नेतृत्व र विशेषतः अध्यक्ष केपी शर्मा ओलीलाई ठानिरहेका छन्।

Gen-Z आन्दोलनले यसअघि २०७९–८२ बाट निरन्तर उठाउँदै आएको ‘तानाशाही प्रवृत्ति बिरुद्ध’ अभियानलाई पनि स्मरण गर्दै—भदौ २३/२४ को आन्दोलनमा “ओली नेतृत्वको कठोरताले देशले ठूलो क्षति बेहोर्नुपरेको” आरोप दोहोर्याएको छ।

हालको सिमरा घटनापछि युवाहरूले एमाले शीर्ष नेताहरूले पछिल्ला तीन महिनासम्म खुलेआम “उत्तेजक र हिंसा भड्काउने” अभिव्यक्ति दिइरहेको आरोप लगाएका छन्।

एमालेतर्फबाट भने घटनाबारे औपचारिक प्रतिक्रिया सार्वजनिक भइसकेको छैन। पार्टी स्रोतहरूले भने घटनालाई “राजनीतिकरण गरिएको” बताएका छन् भन्ने दाबी युवातर्फबाट गरिएको छ।

स्थितिलाई शान्त बनाउन सुरक्षा निकाय परिचालन हुँदै गर्दा, राजनीतिक दलहरूबीच आरोप–प्रत्यारोप चर्किंदै गएको छ। स्थानीयवासीले दुवै पक्षलाई संयमित हुन आग्रह गरेका छन्।

 

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ