लन्डनमा महात्मा गान्धीको मूर्ति तोडफोड, भारतीय उच्चायोगद्वारा कडा निन्दा

लन्डनको ट्याभिस्टक स्क्वायरमा रहेको महात्मा गान्धीको मूर्तिमा तोडफोड गरिएको छ। यो घटना अक्टोबर २ मा मनाइने वार्षिक गान्धी जयन्ती समारोहको केही दिनअगाडि भएको हो।

भारतीय उच्चायोगले घटनाको कडा शब्दमा निन्दा गर्दै यसलाई “लज्जास्पद र आपत्तिजनक” भनेको छ। उच्चायोगले सामाजिक सञ्जाल प्लेटफर्म ‘एक्स’ (पूर्व ट्विटर) मा विज्ञप्ति जारी गर्दै भनेको छ, “यो केवल तोडफोड मात्र होइन, अहिंसाको विचार र महात्मा गान्धीको विरासतमाथि हिंसात्मक आक्रमण हो। त्यो पनि अन्तर्राष्ट्रिय अहिंसा दिवसको तीन दिन अघि।”

उच्चायोगका अनुसार घटनालाई गम्भीरताका साथ लिइएको छ र स्थानीय अधिकारीहरूसँग तत्काल कारबाहीका लागि समन्वय भइरहेको छ। “हाम्रो टोली घटनास्थलमा उपस्थित छ र मूर्तिको गरिमा पुनर्स्थापित गर्न अधिकारीहरूसँग नजिकबाट काम गरिरहेको छ,” उच्चायोगले जनाएको छ।

ट्याभिस्टक स्क्वायरस्थित उक्त मूर्ति भारतीय नेता महात्मा गान्धीको स्मृतिमा स्थापित गरिएको हो, जुन शान्ति, अहिंसा र सहिष्णुताको प्रतीक मानिन्छ। यसप्रकारको घटना प्रति विभिन्न तहबाट विरोध तथा चिन्ता व्यक्त गरिएको छ।

हालसम्म तोडफोड गर्ने व्यक्तिको पहिचान सार्वजनिक भइसकेको छैन र अनुसन्धान जारी रहेको जनाइएको छ।

 

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ