सिराहा १५ भाद्र — सिराहाको भगवानपुर गाउँपालिका–४१ स्थित भगवानपुर चोक नजिकै लागुऔषधसहित चार जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा तीन जना भारतीय र एक जना नेपाली नागरिक रहेका छन्।
इलाका प्रहरी चौकी भगवानपुरबाट खटिएको प्रहरी टोलीले २०८२ भदौ १४ गते साँझ ८:१० बजे गोप्य सूचनाका आधारमा भगवानपुर चोकबाट १०० मिटर पश्चिमतिर जाँच गर्ने क्रममा ती चार जनालाई शङ्कास्पद अवस्थामा फेला पारी नियन्त्रणमा लिएको हो। उनीहरू सवार भारतीय नम्बर प्लेटको १२५ सिसी पल्सर मोटरसाइकल (BR 32 AX 1483) समेत प्रहरीले बरामद गरेको छ।
पक्राउ परेका व्यक्तिहरूको साथबाट प्लास्टिकमा प्याक गरिएको लागुऔषध बरामद गरिएको प्रहरीको भनाइ छ। पक्राउ परेकालाई इलाका प्रहरी कार्यालय, सानो सिराहा ल्याइएको छ।
उनीहरूविरुद्ध जिल्ला अदालत सिराहाबाट २०८२ भदौ १५ गतेदेखि पाँच दिनको म्याद थप अनुमति लिई अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता डिएसपी विरेन्द्र कुमार पासवानले जानकारी दिनुभयो।
पक्राउ परेका व्यक्तिहरूको विवरण:
भारत, बिहार राज्य अन्तर्गत मधुबनी जिल्ला, लौकही प्रहरी चौकी, झौहरी ग्राम घोवयाही वडा नं. १ निवासी, २४ वर्षीय युवक (नाम उल्लेख गरिएको छैन)
भारत, बिहार, मधुबनी, खुटौना प्रहरी चौकी अन्तर्गत प्रसाही ग्राम पंचायत, मुरारपट्टी गाउँ निवासी ३८ वर्षीय अख्तर हुसेन
भारत, बिहार, मधुबनी, लौकही प्रहरी चौकी अन्तर्गत झौहरी ग्राम घोवयाही वडा नं. १ निवासी २३ वर्षीय मोहम्मद मुस्तफा
नेपाल, सप्तरी जिल्ला, खडक नगरपालिका वडा नं. ६ निवासी ४२ वर्षीय अविद हुसेन
प्रहरीले घटनासम्बन्धी थप अनुसन्धान गरिरहेको छ।

