गौर घटनाबारे सर्वोच्चको परमादेशविरुद्ध मधेशमा जसपा नेपालको प्रदर्शन घोषणा

काठमाडौं २ भदौ /
जनता समाजवादी पार्टी (जसपा) नेपालले १८ वर्षअघिको गौर घटनामा सर्वोच्च अदालतले दिएको परमादेशविरुद्ध मधेश प्रदेशभर आन्दोलन गर्ने घोषणा गरेको छ। मधेश प्रदेश समिति अन्तर्गत पार्टीले प्रदेशका सबै आठ जिल्लामा टायर बालेर प्रदर्शन गर्ने जनाएको छ।

जसपा मधेश प्रदेश अध्यक्ष बालकिशोर यादवले सबै जिल्ला अध्यक्षलाई जिल्ला सदरमुकाममा प्रदर्शन गर्न निर्देशन दिइएको जानकारी दिएका छन्। “सर्वोच्च अदालतको अन्यायपूर्ण परमादेशविरुद्ध हामी सडकमा उत्रन बाध्य भएका छौँ,” यादवले भने।

सोमबार सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठ र नित्यानन्द पाण्डेको इजलासले २०६३ साल चैत ७ गते रौतहटको गौरमा भएकाे घटनाको अनुसन्धान अगाडि बढाउन सरकारलाई परमादेश दिएको थियो।

गौरमा भएको उक्त घटनामा मधेसी जनअधिकार फोरम र तत्कालीन माओवादी पार्टीबीच एकै स्थानमा कार्यक्रम गर्ने विषयमा विवाद हुँदा झडप भएको थियो। सो झडपमा २८ जना माओवादी कार्यकर्ताको मृत्यु भएको थियो। लामो समयसम्म घटनाको अनुसन्धान अघि नबढे पनि सर्वोच्च अदालतले हालै दिएको आदेशपछि पुनः कानुनी प्रक्रिया अघि बढ्नेछ।

तर जसपाले यस आदेशलाई “राजनीतिक प्रतिशोध प्रेरित” भन्दै खारेज गर्न माग गर्दै सडक आन्दोलनको चेतावनी दिएको हो। पार्टीको तर्फबाट जारी वक्तव्यमा मधेशी जनताको अधिकार र आन्दोलनमाथि राज्यले दमन गर्न खोजेको आरोप लगाइएको छ।

आगामी दिनमा आन्दोलन अझ चर्किने संकेत जसपा नेपाल ले दिएको छ, जसले मधेश क्षेत्रमा राजनीतिक तापमान बढ्न सक्ने देखिन्छ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ