जनजागरण संवादाता / रामशंकर यादव
सिरहा २७ साउन – लक्ष्मीपुर पतारी गाउँपालिका वडा नं २ मा अवस्थित श्री लाल चन्द्र आधारभूत विद्यालयले आज आर्थिक वर्ष २०८१/०८२ को सामाजिक लेखा परीक्षण अभिभावक भेला सम्पन्न गरेको छ।

विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष प्रमोद कुमार यादवको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा वडा अध्यक्ष रामचन्द्र चौधरी प्रमुख अतिथि रहनु भएको थियो। कार्यक्रममा विशिष्ट अतिथिका रूपमा सवियु मधेश प्रदेशका उपाध्यक्ष चन्द्रशेखर यादव, चुलाइ यादव, विष्णु देव यादव र हेमसंकर यादवको उपस्थिति रहेको थियो।
कार्यक्रमका क्रममा विद्यालयका प्रधानाध्यापक रामवृक्ष कामैतले विद्यालयको आय–व्यय विवरण पारदर्शी ढंगले प्रस्तुत गर्नुभएको थियो।
अभिभावक भेलामा उल्लेखनीय उपस्थिति रहेको थियो भने कार्यक्रम सौहाद्रपूर्ण वातावरणमा हर्षोल्लासका साथ सम्पन्न भएको विद्यालय प्रशासनले जनाएको छ।

पारदर्शिता र उत्तरदायित्वका आधारमा गरिएको सामाजिक लेखा परीक्षणप्रति अभिभावक, स्थानीय बासिन्दा तथा सरोकारवाला पक्षबाट सकारात्मक प्रतिक्रिया र चौतर्फी प्रशंसा प्राप्त भएको छ।
विद्यालयले यस्ता कार्यक्रममार्फत शिक्षा क्षेत्रको विकासमा अभिभावक तथा समुदायको सहभागिता सुनिश्चित गर्ने प्रयास गरेको जनाएको छ।

